चक्रपथको नारायणगोपाल चोकदेखि लैनचौरसम्म मेलम्चीको पाइप फुटेको छ , पाइप फुट्दा हिलाम्य हुने गरेको छ ।
त्यस्तै, सिफल ओरालोमा पनि मेलम्चीको पाइप फुट्दा सडक अस्तव्यस्त बनेको छ । थापागाउँ–अनामनगर सडकमा पनि मेलम्चीको पाइप फुटेको छ । फुटेको पाइप मर्मत गर्न बीचसडकमा खन्दा सवारी ओहोरदोहोरमा समस्या भएको छ ।
थापागाउँदेखि धोबीखोला पुलसम्म करिब १२ ठाउँमा मेलम्चीको पाइप फुटेको छ । पिआइडीका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कतिपय ठाउँमा पानीको प्रेसर बढी भएर समस्या हुने गरेको बताए ।
उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौं महानगरपालिकालगायतले सर्वसाधारणलाई अवरोध हुने गरी काम नगर्न प्राधिकरणलाई लिखित रूपमै आग्रह गरेका छन् ।
तर, सडक साँघुरो भएकाले काम हुन्जेल केही अवरोध पुग्न सक्ने रत्नपार्क वितरण केन्द्र, पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख सुमन श्रेष्ठको भनाइ छ । उनले धेरैजसो ठाउँमा तीव्र रूपमा काम भइरहेको बताउँदै सकेसम्म अवरोध नहुने गरी काम गर्ने बताए ।