महानगरले दमकल थप्ने

काठमाडौं महानगरपालिकाले आगलागीको जोखिम कम गर्न थप दुई ठाउँमा वारुणयन्त्रको शाखा विस्तार गर्ने भएको छ । मेयर बालेन्द्र साहको निर्देशनमा बल्खु र पेप्सीकोलामा वारुणयन्त्रको शाखा विस्तार हुन लागेको हो ।

महानगरका अनुसार मेयर साहले बल्खु र पेप्सीकोलामा वारुणयन्त्रको शाखा तत्काल विस्तारका लागि निर्देशन दिएका छन् । महानगरअन्तर्गत विपद् व्यवस्थापन विभागका अनुसार यही आर्थिक वर्षभित्र दुई ठाउँमा वारुणयन्त्रको शाखा विस्तार हुनेछ ।

‘मेयरसापको निर्देशनअनुसार शाखा विस्तारसँगै दमकल पनि किन्ने योजना छ,’ विभाग प्रमुख रबिनमान श्रेष्ठले भने ।

महानगरले चालू आर्थिक वर्षमै सानाठूला गरी आठवटा दमकल, भर्‍याङ, फायर मोटरसाइकल खरिद गर्ने भएको छ । बालाजुमा पनि २८ मंसिरदेखि वारुणयन्त्रको शाखा सञ्चालनमा आइसकेको छ ।

केन्द्रीय बारूणयन्त्र कार्यालय वसन्तपुर र चाबहिलको रामहिटीमा पहिलादेखि नै वारुणयन्त्रका शाखा छन् ।

बालाजुको सहित तीन ठाउँमा वारुणयन्त्रको शाखा विस्तार भइसकेको छ । यी तीन स्थानमा अहिले सातवटा दमकल तयारी अवस्थामा छन् ।

महानगरपालिकाले आगलागी नियन्त्रणका लागि ‘फायर हाइड्रेन्ड’ राख्ने कार्यलाई पनि तीव्रता दिएको छ ।

हालसम्म महानगरले २५, १७, १६ र १३ वडामा मा ‘फायर हाइड्रेन्ड’ जडान गरिसकेको छ । १७ वडामा जडान भइरहेको छ । ७, १२ र १८ वडामा पनि फायर हाइड्रेन्ड राख्न माग आएको विभाग प्रमुख श्रेष्ठले बताए ।

महानगरभित्रका भित्री सहरमा ‘फायर हाइड्रेन्ड’ राख्ने कामले तीव्रता पाउँदा आगलागीको जोखिम कम हुने उनले बताए । भित्री भागमा दमकल पुग्न नसक्ने हुँदा आगलागी हुँला जनधनको ठूलो क्षति हुँदै आएको छ । ‘जहाँ साँघुरा गल्ली छन् ।

जहाँ हाम्रा दमलक पुग्न सक्दैनन् । त्यहाँ ‘वाटर हाइड्रेन्ड’ पाइप जडान गरिने काम भइरहेको छ । यसले पहिलेको तुलानामा आगलागीको जोखिम कम गर्नेछ,’ श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *