काठमाडौं महानगरपालिकाले आगलागीको जोखिम कम गर्न थप दुई ठाउँमा वारुणयन्त्रको शाखा विस्तार गर्ने भएको छ ।
मेयर बालेन्द्र साहको निर्देशनमा बल्खु र पेप्सीकोलामा वारुणयन्त्रको शाखा विस्तार हुन लागेको हो ।
महानगरपालिकाले वारुणयन्त्रको शाखा विस्तारको पहल अगाडि बढाए पनि जनशक्ति परिपूर्तिलाई भने ध्यान दिनसकेको छैन । महानगरमा हाल भएका ४२ जनाको भरमा तीनवटै वारुणयन्त्र शाखा चलिरहेको छ ।
यो जनशक्ति अपुग भएको महानगरले जनाएको छ । वारुणयन्त्र वसन्तपुर कार्यालयका प्रमुख प्रकाश पण्डितका अनुसार एउटै वारुणयन्त्र सञ्चालनका लागि ३०–४० जना चाहिन्छ ।
‘हाल हामीसँग रामहिटीमा आठ, वसन्तपुरमा १४ जना छन् । बाँकी बालाजु शाखामा छन् । जनशक्ति अभाव टार्न सशस्त्र प्रहरीको सहयोग माग्छौँ ।
बालाजुका लागि थप आठजना जनशक्ति मागेका छौँ, तर दिनुभएको छैन,’ पण्डितले भने ।
नयाँ वारुणयन्त्र सञ्चालनका लागि समेत जनशक्ति अभाव रहेको उनले बताए ।
‘हामीसँग भएका दमकलले करिब १५ तलासम्मको भवनमा भएको आगलागी निभाउँछ । सर्वसाधारणमा पनि सचेतना आएको छ । घरमा, किचनमा लागेको आगो अहिले हामी पुग्नुभन्दा पहिला नै समुदाय नै मिलेर निवारण गरिसकेको हुन्छ,’ उनले भने ।