राष्ट्रिय गौरबको आयोजना अलपत्र

स्तरोन्नतीको चरणमा रहेको राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको मालढुङ्गा–बेनी सडक अलपत्र परेको छ ।
मालढुंगा—बेनी सडकको ठेकेदार कम्पनीले काम छाडेपछि चार महिनादेखि सडक अस्तव्यस्त बनेको हो । सडक निर्माणको काम छाडिएका कारण यात्रुले सास्ती बेहोरेका छन भने ठेकेदारलाई काम फर्काउने प्रयास थालिएको छ ।

निर्माणको ठेक्का लिएको मुल कम्पनी र उसले खटाएको सहायक कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चार महिनादेखि काम ठप्प छ । मुल कम्पनी संग असमझदारी पछि सडक अलपत्र अवस्थामा छाडेर योजना निर्माणबाट पछि हटेको छ । निर्माणको जिम्मा लिएको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले अघिल्लो वर्ष सडक स्तरोन्नती थालेको थियो ।

पछिल्लो समय ठेकेदारकाबीच एकआपसमा विवाद र असमझदारी बढेपछि योजना निर्माण रोकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले बताउनुभयो । ठेकेदारहरुकाबीच एकआपसमा विवाद उत्पन्न हुँदा योजना प्रभावित बनेको उहाँको भनाई छ । ठेकेदारसँग आइतबार छलफल गरेको छौं इन्जिनियर पन्तले भन्नुभयो ‘दुईचार दिन भित्रमा सडक मर्मत थाल्ने, एकहप्ता भित्र मजदुर र उपकरण सहित कार्यस्थलमा परिचालन हुने ठेकेदार कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ ।’ आयोजनाका अनुसार अहिलेसम्म २४ प्रतिशत भौतिक प्रगति भएको छ ।

आगमी २०७९ को चैत मसान्त सम्म योजना सम्पन्न गर्नेे आयोजनाले लक्ष्य राखेको थियो । तर ठेकेदारले ढिलासुस्ती गर्दा समयमै योजना सम्पन्न हुने देखिदैन । ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने योजनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *