ललितपुरस्थित ग्वार्काे चोकमा बनाउने भनिएको ‘फ्लाई ओभर’ (ओभर पास) निर्माण आगामी शुक्रबार (२३ मंसिर)बाट सुरु हुने भएको छ ।
आयोजनाको ठेक्काप्राप्त आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि निर्माण सुरु गर्न लागेका हुन् ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले शुक्रबारदेखि ग्वार्काे फ्लाई ओभरको निर्माण सुरु हुने बताए । त्यसका लागि आवश्यक तयारी पूरा भएको उनको भनाइ छ ।
विभागले ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित चक्रपथको ग्वार्काे, एकान्तकुना र सातदोबाटो चोकमा फ्लाई ओभर बनाउने योजना अघि बढाएको थियो । त्यसमा पहिलो चरणअन्तर्गत ग्वार्काे चोकको फ्लाई ओभर निर्माण गर्न लागिएको हो ।
नेपालको सडक सञ्जालनमा बन्न लागेको यो पहिलो फ्लाई ओभर पुल हो ।
यद्यपि, नागढुंगा सुरुङमार्गमा पनि एक फ्लाई ओभर निर्माण हुनेछ । तर, त्यसको अझै निर्माण सुरु भएको छैन । हाल त्यसको डिजाइन बनाउने काम भइरहेको छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नवीनमान श्रेष्ठले नेपालका लागि यो नै पहिलो फ्लाई ओभर हुने बताए ।
Post Views: 73