– ज्योति बानियाँ,
अध्यक्ष – उपभोक्ता हित संरक्षण मञ्च
अहिले जे गरे पनि हुन्छ जस्तो भइरहेको छ । एकातिर हामी निजी क्षेत्रलाई इन्धन कारोबारको अनुमति दिनुहुन्न पनि भनिरहेका छौँ । त्यही एकाधिकारको फाइदा उठाउने काम आयल निगमबाट भइरहेको छ । इन्धन नेपालमा उपभोक्तामाथि शोषण गरिने वस्तुका रूपमा चिनिएको छ । आयल निगमका व्यवस्थापकहरूमा निगम घाटामा हुँदा भाउ बढाइहाल्ने, तर नाफामा जाँदा भने चुप लागेर बस्ने प्रवृत्ति देखिन्छ । सरकारलाई त कर उठाउँदैमा आनन्द छ ।
सरकारले इन्धनलाई नै राज्य सञ्चालनको आधार बनाउन खोज्दाको परिणाम अहिले उपभोक्ताले महँगोमा तेल किन्नुपरेको छ । पेट्रोल, डिजेललगायतको आधाजसो कर राज्य सञ्चालनमा गइरहेको छ । इन्धनलाई राजनीतिक वस्तु बनाएर उपभोक्तामाथि शोषण गर्ने प्रवृत्ति नहटेसम्म यो अवस्था रहिरहन्छ ।