भारतीय बजारमा बीवाईडीलाई सहज, तीन मोडलको आयात सीमा समाप्त

काठमाडाैं । एआरएआईबाट प्रमाणीकरण पाउने मोडलमा बीवाईडी एट्टो३, ईम्याक्स७ र सिलायन७ रहेका छन्। यसअघि विदेशी प्रमाणीकरणका आधारमा भारतीय बजारमा बिक्री गरिने प्रत्येक मोडलको वार्षिक आयात सीमा २ हजार ५०० युनिट तोकिएको थियो। तर, भारतीय निकायबाटै होमोलोगेसन प्राप्त गरेपछि यी तीनवटा मोडल उक्त सीमाबिना आयात तथा बिक्री गर्न सकिने भएका छन्।

हाल बीवाईडीका चारवटा मोडल भारतीय बजारमा उपलब्ध छन्। तीमध्ये सिल इलेक्ट्रिक सेडानले भने अहिलेसम्म एआरएआईको होमोलोगेसन प्रमाणपत्र पाउन सकेको छैन। त्यसैले यस मोडलमा भने वार्षिक २ हजार ५०० युनिटको आयात सीमा यथावत् रहनेछ।

एआरएआई होमोलोगेसनले कुनै पनि सवारीसाधनले भारतीय सडकमा सञ्चालन हुन आवश्यक प्राविधिक तथा सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गर्छ। यसबाट कम्पनीलाई बजारको मागअनुसार सवारीसाधन आयात गर्न र बिक्री विस्तार गर्न सहज हुनेछ।

यो निर्णय विशेषगरी बीवाईडीको सिलायन७ का लागि महत्वपूर्ण मानिएको छ। भारतीय बजारमा उक्त एसयूभीको माग बढ्दै गइरहेको अवस्थामा आयात सीमाका कारण बिक्री विस्तारमा देखिएको अवरोध हटेको छ। अब कम्पनीले मागअनुसार थप गाडी भित्र्याउन सक्ने भएकाले भारतीय विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति बलियो बनाउने अपेक्षा गरिएको छ।

बीवाईडीले सन् २०२१ मा ई६ इलेक्ट्रिक एमपीभीमार्फत भारतीय बजारमा प्रवेश गरेको थियो। त्यसपछि सन् २०२२ मा एट्टो३ सार्वजनिक गरेको कम्पनीले सन् २०२४ मा सिल र ईम्याक्स७ बजारमा ल्याएको थियो। त्यस्तै, सन् २०२५ मा सिलायन७ थप्दै कम्पनीले भारतीय विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *