ईभी कन्भर्जनको नीति नियम स्पष्ट छैन

युवा इन्जिनियरहरुले स्थापना गरेको ‘ई–बहान मोटोकर्प’का संस्थापक अविरल पोखरेलको टिमको सपना हो, नेपालका थोत्रा र कवाड सवारी साधनलाई फेरि सडकमा ल्याएर कुदाउने ।

उनीहरुको सपना पूरा भयो भने सडकमा फर्किने सवारीले कालो धुवाँ फाल्ने छैनन्, बरु ब्याट्रीबाट चल्नेछन् र देशभित्र उत्पादन भएको बिजुली खपतमा सहयोग पुर्‍याउनेछन् ।

तर, यो टिम विगत ८ महिनादेखि सिंहदरबार, यातायात व्यवस्था विभाग र प्रदेशअन्तर्गतका यातायात कार्यालयहरुमा धाउँदा–धाउँदै वाक्कदिक्क भइसक्यो ।

पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धनबाट चल्ने सवारी साधनमा रुपान्तरण (ईभी कन्भर्जन) गर्न दिने गरी बनेको नियमको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्ने जवाफ सरकारबाट उनीहरुले अझै पाएका छैनन् ।

सरकारले आश्वासन दिइरहेकाले पोखरेलसहित यो टिम नेपालमा पेट्रोलियमबाट चल्ने पुराना सवारीहरुमा ईभी कन्भर्जनको काम थाल्न अझै पनि उत्साहित छ ।

यो कम्पनीले तीन वटा नमुना (प्रोटोटाइप) मा एकसाथ अनुसन्धान गरिरहेको छ । २ वटा प्रयोग त सफल नै हुने देखिइसकेको पोखरेल बताउँछन् ।

तर, कन्भर्जनका यस्ता सफल ‘प्रयोग’लाई प्रमाणीकरण गर्दै व्यावसायिक बनाउने कम्पनीको चाहनामा सरकारी नीतिहरु नै बाधक देखिएका छन् ।

ई–बाहन मात्रै हैन, पछिल्लो समयमा कन्भर्जनको अनुमति माग्दै यातायात व्यवस्था विभाग र प्रदेशअन्तर्गतका यातायात कार्यालयहरु पुग्नेहरुको सूची लामो छ ।

तर, सरकारी अधिकारीहरुले उनीहरुबाट पाएको स्पष्ट जवाफ हो– नीति नियम स्पष्ट छैन, त्यसैले अनुमति दिन सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *