Skip to content
भन्सार छली गर्न व्यापारीहरूले एयरलाइन्सको भाडाको बिल (एरोबिल) नै नक्कली बनाउने गरेको भेटिएको छ ।
राजस्व अनुसन्धान विभागले गरेको छानबिनमा केही आयातकर्ताले लामो समयदेखि भन्सारमा किर्ते बिल प्रयोग गरी भन्सार महसुल छल्दै आएको खुलेको हो ।
नक्कली एरोबिलबाट भन्सार छलीमा भन्सार कर्मचारीको समेत मिलेमतोको आशंका छ ।
शिव बुबा बिजनेस लिंक नामक कम्पनीले मात्र दर्जनौँपटक नक्कली एरोबिल पेस गरेको पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही फाइल झिकाएर विभागले अनुसन्धान गरिरहेको छ ।
जसमा सो कम्पनीले कम भन्सार तिर्न वास्तविक बिल लुकाएर नक्कली बिल पेस गरी कम भन्सार महसुलमा सामान पास गराउँदै आएको भेटिएको हो ।
सामान खरिदका साथै ढुवानी खर्चसमेत हेरेर भन्सार मूल्यांकन हुन्छ ।
भन्सार मूल्यांकनलाई प्रभावित पार्न यसरी नक्कली बिल प्रयोग हुने गरेको तथ्य खुलेको हो ।
केही कम्पनीले नक्कली एरोबिल प्रयोग गर्दै आएको विषयमा छानबिन भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाले पुष्टि गरे ।
‘केही कम्पनीले नक्कली एरोबिल प्रयोग गरेको पुष्टि भएको छ,’ उनले भने, ‘यसमा विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’
शिव बुबा कम्पनीले चीनबाट सामान आयात गर्दा भन्सार छली गरेको हो ।
सो कम्पनीले धेरैजसो कृषिजन्य औषधि तथा औजार आयात गर्दै आएको छ ।
स्रोतका अनुसार विभागले तीन महिनाअघिदेखि नै यो विषयमा छानबिन गर्दै आएको छ ।
शंकास्पद एरोबिलका विषयमा विभागले सम्बन्धित एयरलाइन्स कम्पनीलाई पत्राचार गरेको थियो ।
जसमा एयरलाइन्सले ती एरोबिल आफूहरूले जारी नगरेको पुष्टि भएको छ ।
भन्सार छलीका लागि वास्तविकभन्दा खरिद गरेको सामानको कम बिल देखाउने प्रवृत्ति पुरानै हो ।
केही व्यवसायीले एयरलाइन्सको बिलसमेत नक्कली बनाउँदै आएको पुष्टि भएको छ ।
किर्ते बिल बनाउनेमाथि प्रहरीमार्फत किर्तेसम्बन्धी कसुरमा छुट्टै मुद्दा चलाउने विषयमा पनि छलफल भइरहेको विभागका एक अधिकारीले बताए ।
Post Views: 219