कीर्तिमानी हरितगृह ग्यास उत्सर्जन र घट्दो वायु प्रदूषणले विश्वव्यापी तापमानमा अतुलनीय तीव्रता निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
विश्वका ५० शीर्ष वैज्ञानिकले एक बृहत् जलवायु विज्ञान अपडेटमा उक्त चेतावनी दिएका हुन् ।
सन् २०१३ देखि सन् २०२२ सम्म ‘मानव सिर्जित तापक्रम प्रतिदशक ०.२ डिग्री सेल्सियसभन्दा बढीको अभूतपूर्व दरमा बढ्दै गएको छ,’ नीति निर्मातालाई लक्षित एक सहकर्मी–समीक्षा अध्ययनमा उनीहरूले भनेका छन् ।
अध्ययनअनुसार सोही अवधिमा औसत वार्षिक उत्सर्जन ५४ अर्ब टन कार्बनडाइअक्साइड (अहिलेसम्मकै उच्च) वा अन्य ग्यासमा यसको समतुल्य थियो, जुन प्रत्येक सेकेन्डमा करिब १७ सय टन उत्सर्जन हो ।
विश्व नेताहरूले यस वर्षको अन्त्यमा दुबईमा कोप २८ जलवायु शिखर सम्मेलनमा नयाँ तथ्यांकको सामना गर्नेछन्, जहाँ संयुक्त राष्ट्रसंघीय वार्तामा ‘ग्लोबल स्टकटेक’ले सन् २०१५ को पेरिस सम्झौताको तापक्रम लक्ष्यमा भइरहेका प्रगतिको समीक्षा गर्नेछ ।
‘हामी अझै १.५ डिग्री सेल्सियसको तापक्रममा नभए पनि कार्बन बजेट’(१.५ डिग्री सेल्सियसको सीमा ननाघी मानिसले उत्सर्जन गर्ने हरितगृह ग्यासको मात्रा) ‘केही वर्षमा मात्रै समाप्त हुनेछ,’ प्रमुख लेखक तथा लिड्स विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक पियर्स फोर्सटरले भने ।
फोर्सटर र सहकर्मीअनुसार उक्त बजेट संयुक्त राष्ट्रको जलवायु विज्ञान सल्लाहकार निकाय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) ले सन् २०२१ मा आफ्नो हालको मानक प्रतिवेदनका लागि तथ्यांक संकलन गरेदेखि आधाले संकुचित भएको छ ।