बीवाईडी गाडीको मूल्य समायोजन

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ ।

यस अनुसार नेपाली बजारमा उपलब्ध गराउने घोषणा गरिएको ५० किलोवाट आवर ब्याट्री क्षमताको मूल्य समेत सार्वजनिक भएको छ ।

कम्पनी स्रोतका अनुसार नेपाली बजारमा अब उपलब्ध हुने ५० किलोवाट आवर ब्याट्री क्षमताको एट्टो ३ को मूल्य ५५ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

त्यसैगरी पहिले देखि नेपाली बजारमा उपलब्ध १०० किलोवाट मोटर क्षमताको एट्टो ३ को मूल्य ६५ लाख ९० हजार रुपैयाँ हुनेछ । यसको मूल्य पहिले ६४ लाख ९० हजार रुपैयाँ थियो ।

सरकारले १०० किलोवाट सम्म क्षमताको इलेक्ट्रिक गाडीमा कर बढाएको छ । सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत पु¥याउनुका साथै यो सेग्मेन्टमा १० प्रतिशत अन्तःशुल्क थपिएको छ। यसले गर्दा यो वर्षको लागि ५० देखि १०० किलोवाट सेग्मेन्टको गाडीमा कुल १५ प्रतिशत कर बढेको हो।

तर १०० किलोवाट क्षमताको भएर पनि बीवाईडी एट्टो ३ को मूल्य भने १ लाख रुपैयाँ मात्र बढेको छ । उत्पादक कम्पनीकै सहयोगमा कम मात्र मूल्य बढाइएको कम्पनी स्रोतको भनाइ छ ।

साइमेक्स इंकले १५० किलोवाटको एट्टो ३ को मूल्य पनि समायोजन गरेको छ । यसको मूल्य पहिले ८९ लाख ९० हजार रुपैयाँ भएकोमा अब ८१ लाख ९९ हजार रुपैयाँ मात्र हुनेछ ।

बजेटबाट १०० किलोवाटदेखि २०० किलोवाटसम्मको गाडीको भन्सार र अन्तःशुल्क १०/१० प्रतिशत घटाइएको छ।

यो सेग्मेन्टमा भन्सार ३० प्रतिशत र अन्तःशुल्क ३० प्रतिशत लाग्दै आएको थियो। अब १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्ने छ । यसको प्रत्यक्ष फाइदा यो गाडीलाई हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *