कालीगण्डकी नदीमा बेलिब्रिज जडान भएपछि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडामा पर्ने बगरफाँट तीन वर्षपछि यातायात सञ्जालमा जोडिएको छ ।
म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलिब्रिज जडान भएपछि म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको बगरफाँटका बासिन्दालाई राहत मिलेको छ ।
पर्वतबेनी देखि बगरफाँट जोड्ने सडक वि.सं. २०७७ असारको बाढीले कटान गरेर बगाएको र मर्मत तथा नयाँ सडक निर्माण हुन नसकेपछि करिब चार सय घरधुरी रहेको बगरफाँटको यातायात सम्पर्क बिच्छेद भएको छ ।
बेलिब्रिज निर्माण भएपछि बगरफाँटबासीलाई बेनीमा आवतजावत, खाद्यान्न, निर्माण सामग्री ढुवानी, विद्यार्थीलाई क्याम्पस विद्यालय जान र बिरामीहरूलाई अस्पताल पुग्न सहज भएको स्थानीय रवी भण्डारीले बताए ।
‘म्याग्दीको सदरमुकाम बेनीबजारसँगै भएपनि यातायात र ढुवानीको समस्याले बगरफाँटबासीले दुर्गमको महशुस गरेका थिए,’ जलजला–३ को निवर्तमान वडा अध्यक्ष समेत रहेका भण्डारीले भने, ‘बेलिब्रिजले बगरफाँटलाई तीन वर्षपछि यातायात सञ्जालमा जोडेको छ ।’
बगरफाँटका साथै जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट र म्याग्दीको नागी–राम्चेका बासिन्दा पनि लाभान्वित भएका छन् ।
४५ मिटर लामो बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम कोरला सडक आयोजनासँग बेनीको हिमालयन बिल्डर्सले २०७९ फागुनमा दुई करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
आयोजना प्रमुख जगत प्रजापतिले आगामी असार मसान्तसम्म सम्झौताको म्याद भएपनि एक महिना अघिनै बेलिब्रिज निर्माण सकिएर प्रयोगमा आएको बताए ।
‘पाँच महिनाको सम्झौताको म्याद थियो,’ उनले भने, ‘चार महिनामै पुल तयार भएर प्रयोगमा आइसकेको छ ।
प्राविधिक मूल्याङ्कन र नापजाँचको काम बाँकी छ । धेरै योजना ढिलासुस्तिले थलिएको अवस्थामा यो बेलिब्रिज लक्ष्य भन्दा एक महिना अघिनै सम्पन्न भएको छ ।’
बेनी–जोमसोम कोरला सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र २ को सिमाना पोखरेबगर स्थित कालीगण्डकीमा रहेको बेलिब्रिज बगरफाँट जोड्ने सडकमा स्थानान्तरण गरिएको हो ।
पोखरेबगरमा गत वर्ष पक्कि पुल बनेपछि बेलिब्रिज प्रयोग बिहिन थियो।
हिमालयन बिल्डर्सका सञ्चालक निरज भण्डारीले काम गर्ने वातावरण, सम्बद्ध कार्यालय, स्थानीय पालिका र समुदायको सहयोगका कारण लक्ष्य अघिनै पुल निर्माण गर्न सकेको बताए ।
‘सम्झौता लगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन गरेको थिए,’ उनले भने, ‘काम गर्ने वातावरण भएकाले पनि सजिलो भयो ।’