अबको भविष्य हाइड्रोजन ऊर्जाको

जीवाष्म इन्धनको बोलबाला क्रमशः सकिने दिन आउँदैछ।

विश्वमा विद्युतीय सवारी साधनले बजार लिँदैछ। तर भविष्य भने हाइड्रोजन ऊर्जाको हो।

भएको जीवाष्म इन्धन पेट्रोलको खानीको उत्खनन गर्ने ल्याकत नेपालसँग रहेन।

तर हाइड्रोजनको मामलामा भने नेपाल सफल बन्न सक्छ।

त्यो पनि हरित हाइड्रोजन। किनभने नेपालमा हाइड्रोजन उत्पादनका लागि जलविद्युत्को प्रयोग गर्न सम्भव छ।

हामीसँग जलविद्युत्को कमी छैन। अब तीन हजार मेगावाट बिजुली उत्पादन हुँदैछ।

२६ सय मेगावाट त राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ।

पेट्रोल, डिजेलबाट निकालिने हाइड्रोजन खैरो हाइड्रोजन हो भने कोइलाबाट कालो। तर जलविद्युत् प्रयोग गरी हाइड्रोजन उत्पादन गर्दा वातावरण विनाश हुँदैन।

हाइड्रोजन वायुमा पेट्रोल र डिजेलको भन्दा धेरै शक्ति हुन्छ। यसबाट गाडी चलाउन, हवाईजहाज उडाउन सम्भव छ।

गह्रुंगागह्रुंगा उपकरण चलाउन हाइड्रोजन ऊर्जा नै सबैभन्दा उत्तम हुन्छ, जब कि विद्युतीय ऊर्जा अर्थात् ब्याट्रीबाट त्यो सम्भावना रहँदैन।

हाइड्रोजन ऊर्जा विद्युतीयभन्दा पनि सस्तो पर्न जान्छ। विश्वबजारमै यसको भाउ दिनप्रतिदिन घट्दैछ।

झन् नेपालले आफ्नै जलविद्युत्बाट हाइड्रोजन उत्पादन गर्दा अझै सस्तो पर्न सक्छ। विश्व नै जीवाष्म इन्धन विस्थापित गर्ने प्रतिबद्धता गरिरहेको छ।

सन् २०५० सम्म शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता भएको हुँदा पनि कार्बन उत्सर्जनको मुख्य कारक जीवाष्म इन्धनयुक्त सवारी साधन विस्थापन अवश्यंभावी छ। विकल्प विद्युतीय गाडी देखिए पनि भविष्य हाइड्रोजनकै हो।

यो नेपालको पनि बहसको विषय हो। बरु सरकारले छिट्टै हाइड्रोजन ऊर्जा उत्पादन, बिक्री र यसको प्रयोगबाट चल्ने गाडीका लागि कानुन बनाउन जरुरी छ।

प्रधानमन्त्रीले हाइड्रोजन गाडी चढ्ने भनेर गरेको प्रतिबद्धता पूरा गर्न पनि त्यो कानुन अभाव छ।

हाइड्रोजन उत्पादन र गाडीहरूलाई ऊर्जा भरणका लागि आवश्यक पूर्वाधार तयार गर्न जरुरी छ।

पेट्रोलका खानी भएका साउदी अरब, ओमनजस्ता रेगिस्तानी मुलुकसमेत सौर्यऊर्जा प्रयोग गरी हाइड्रोजन उत्पादन गरी धनी हुने भनेर खर्बौं लगानी गरिरहेका छन्।

छिमेकी भारतले समेत त्यो बाटो समातिसकेको छ। भारतमा हाइड्रोजन ऊर्जाबाट चल्ने ट्रक उत्पादन भइसके।

नेपालले हाइड्रोजन उत्पादन र यो ऊर्जाको प्रयोगमा जति ढिला गर्‍यो उति पछि पर्ने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *