वीरगञ्जमा हुने भयो रोयल इन्फिल्डको एसेम्बली

काठमाडौं : रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमा नै मोटरसाइकल सम्पूर्ण रूपमा एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ ।

मध्यम आकारको (२५० सीसी – ७५० सीसी) मोटरसाइकलहरूमा विश्वव्यापी बजारमा नै अग्रणी मानिएको रोयल इन्फिल्डले वीरगञ्जमा एसेम्बली युनिटको स्थापना गरेको छ ।

भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र बाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा सीकेडी एसेम्बली युनिट खडा गरेको छ ।

नेपालमा बन्ने सीकेडी युनिट पाँचौँ हो । यस युनिटको स्थापनाले सार्क क्षेत्रमा नै आफ्नो व्यापार विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ ।

रोयल इन्फिल्डका सीईओ बी गोविन्दराजनले नेपालमा सीकेडी युनिटको उद्घाटन भएकोमा यसमा संलग्न टोलीलाई बधाई दिँदै कम्पनीको विश्वव्यापी महत्त्वाकाङ्क्षा बारे धारणा राखेका थिए ।

‘पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा मध्यम आकारको मोटरसाइकलको विकास र विस्तार गर्ने हाम्रो प्रयास रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा हामीले ठूलो सफलता पनि हासिल गरेका छौँ ।

रोयल इन्फिल्ड अब बेलायत, कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता बजारहरूमा मध्यम-खण्डका मोटरसाइकल ब्रान्डहरूमध्ये शीर्ष स्थानमा छ,’ उनले भने ।

विश्वव्यापी बजारसँग नजिक हुने हाम्रो रणनीतिले वास्तवमै राम्रो परिणाम दिएको उनले बताए ।

एसिया प्यासिफिक र दक्षिण अमेरिकामा चार वटा सीकेडी युनिटहरू सफलतापूर्वक स्थापना गरेको भन्दै उनले हालै मात्र यूकेमा कम्पनीले प्रत्यक्ष व्यापार सुरु गरेको बताए ।

अन्तर्राष्ट्रिय बजार विस्तारको योजना स्वरूप नै नेपालमा व्यापार विस्तारको ठूलो सम्भावना देखेरै नयाँ सीकेडी युनिट खडा गरिएको भन्दै उनले विश्वव्यापी रूपमा सम्मानित उत्कृष्ट मोटरसाइकलहरू नेपालका राइडरहरूका लागि उत्पादन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *