गोंगबुस्थित नयाँ बसपार्कलाई ‘पिक एन्ड ड्रप’ शैलीमा सञ्चालन गरिने भएको छ ।
सवारीसाधन धेरै र स्पेस कम भएका कारण सबै सवारीसाधनलाई ‘पार्किङ स्पेस’ अपुग हुन थालेपछि ‘पिक एन्ड ड्रप’ शैलीमा लैजान लागिएको हो ।
यसअघि काठमाडौं महानगरले काठमाडौंबाट बाहिरिने लामा तथा मध्यम दूरीका सवारीसाधनलाई १ असारदेखि अनिवार्य रूपमा गोंगबुस्थित बसपार्कबाट छुट्न सूचना जारी गरेको थियो ।
सोहीअनुसार बसपार्कबाहिरका टिकट काउन्टर हटाउन महानगरले सूचना जारी गरेको छ ।
महानगरको सूचनासँगै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले सबै बसलाई व्यवस्थित गर्न थालिसकेको जनाएको छ ।
महानगरले नयाँ बसपार्क सञ्चालनका लागि ल्होत्से बहुउद्देश्यीय संस्थालाई भाडामा दिएको छ ।
‘पिक एन्ड ड्रप’ अवधारणा लागू गर्नेबारे यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, महानगर, महासंघ र ल्होत्से बहुउद्देश्यीयबीच छलफल चलिरहेको छ ।
महानगरको सूचनापछि महासंघले पनि ‘पिक एन्ड ड्रप’ उपयुक्त हुने जनाएको छ ।
काठमाडौं महानगरका ट्राफिक प्रहरी प्रमुख सल्लाहकारजगतमान श्रेष्ठले बसपार्क र सडकहरू अव्यवस्थित भएकाले सबै बसलाई बसपार्कमै जानुपर्ने व्यवस्था गरेको बताए ।
उनले छुट्नुभन्दा एक घन्टाअघि र बसपार्क छिरेको एक घन्टासम्म मात्रै रहन पाइने बताए ।
त्यसपछि पार्किङका लागि व्यवसायी आफैँले ठाउँ खोज्नुपर्नेछ ।
‘कतिपयले बसपार्कमा दुई–तीन दिनसम्म पार्किङ गरेको पाइयो, यसो गर्न पाइँदैन,’ उनले भने, ‘त्यसकारण हामीले पिक एन्ड ड्रप नियम लागू गर्न लागेका हौँ ।’