काठमाडौं : साझा यातायातले नयाँ रुटमा विद्युतीय बस मार्फत सेवा सुरु गर्दैछ । यातायातले पाटनढोका-दक्षिण ढोका रुटमा सोमबार देखि ३ वटा बिजुली बस चलाउन लागेको हो ।
साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधारले चाजिङ स्टेशन बनाउन कार्यविधि नबन्दा अझै ३४ वटा बस सञ्चालनमा ल्याउन नसकिएको बताए ।
उनले भने, ‘आज देखि थप ३ वटा बस सञ्चालनमा आउँदै छ । अन्य बस चाजिङ स्टेशन नहुदाँ सञ्चालनमा ल्याउन सकेका छैनौँ । आज सञ्चालनमा आएको बसलाई पनि पहिलाकै २ वटा चार्जरबाट सञ्चालनमा ल्याउन लागेका हौँ ।’
साझा यातायातले ४० वटा बिजुली ल्याएकोमध्ये ३ वटा यसअघि नै सञ्चालन गरिसकेको थियो । सोमबारदेखि थप ३ वटा बस सञ्चालनमा आउन लागेको हो ।
साझाको यातायातले ०७९ असार २३ गते देखि विद्युतीय सवारी साधन सञ्चालनमा ल्याएको थियो । चीनबाट पहिलो चरणमा तीन थान बस ल्याएर सञ्चालनमा ल्याएको थियो ।
संस्थाले ०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो ।
सीएचटीसीएचओसँग साझाले प्रति बस करिब डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो। ४० वटा बसमा करिब ६१ करोड रुपैयाँ खर्च गरेको छ।
उक्त सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ।
सम्झौता अनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मत सम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ थप प्रदान गर्ने भनिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो।
उक्त निर्णय पश्चात् साझा यातायातलाई विद्युतीय बस किन्नको लागि सरकारले सुरुमा तीन अर्ब रुपैयाँ दियो।
रकम सरकारले सेयरको रुपमा लगानी गरेको थियो। सरकारले ०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय गरेको थियो।
तर बस किन्ने प्रकिया ढिला गरेको भन्दै सरकारले ०७६ माघमा ब्याजसहित फिर्ता मागेको थियो। तर साझाले सेयर फिर्ता नहुने अडान लिएपछि सरकारले माघ ०७७ गते विद्युतीय बस किन्न दिने निर्णय गरेको थियो।
उक्त निर्णय पश्चात् साझाले ०७७ चैत १३ गते खरिद प्रकियाका लागि बोलपत्र आव्हान गरेको थियो।