एक महिनाभित्र अव्यवस्थित तार काटिसकिने

काठमाडौं उपत्यकालाई कुरूप बनाउने गरी अव्यवस्थित शैलीमा टाँगिएका अनावश्यक तार काट्ने र बन्डलिङ गर्न थालिएको छ ।

काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम लगायतले सोमबारदेखि यस्ता तार व्यवस्थित गर्न सुरु गरेका हुन् ।

यस अघि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले २७ वैशाखभित्र तार हटाउन निर्देशन दिएका थिए । तार नहटाए काटिदिने चेतावनी दिएका थिए ।

त्यसलगत्तै सम्बन्धित निकायहरूले आइतबार महानगरसँग सहमति र समन्वय गरेर सोमबारदेखि तार हटाउन थालेका हुन् ।

सोमबार र मंगलबार माइतीघर मण्डलाबाट अव्यवस्थित तार हटाउन सुरु गरिएको थियो । नयाँ बानेश्वर, सुन्धारा, तिनकुने, सिनामंगल, एयरपोर्टसम्मका केही तार हटाउने र व्यवस्थित गर्ने कार्य भएको छ ।

महानगरभित्र रहेका अनावश्यक तार क्रमशः हटाउँदै जाने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘सम्बन्धित निकायले तार हटाउन सुरु गरेका छन्, यसमा हामीले पनि सहयोग गरेका छौँ,’ उनले भने, ‘काम नलाग्ने र पोलमा झुन्डिएका अनावश्यक तार हामी हटाउँछौँ ।’

मंगलबार न्युरोड, वसन्तपुर, नयाँ बानेश्वर, बागबजार लगायत क्षेत्रका तार व्यवस्थित गरिएको छ ।

महानगर, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाले सहकार्यमा तार हटाउने आइतबार निर्णय भएको थियो ।

करिब एक महिनामा महानगरभित्रका अनावश्यक र कुरूप बनाइरहेका तार हटाइ सकिने महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *