हुलाकी सडक निर्माणमा ढिलासुस्ती

हुलाकी सडक निर्माणमा हदैसम्म ढिलासुस्ती भएको भन्दै मोरङको दक्षिणी क्षेत्रका संघ र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुखहरूले सडक संघर्ष घोषणा गरेका छन् ।

पटक–पटक चाँडो हुलाकी सडक निर्माण गर्न आयोजना र ठेकेदार कम्पनीलाई आग्रह गर्दा पनि बेवास्ता भएपछि मोरङको २, ४ र ५ नम्बर क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसद तथा प्रभावित पालिका अध्यक्षहरूले सडक संघर्ष घोषणा गरेका हुन् ।

बिहीबार विराटनगरमा मोरङ २ बाट निर्वाचित संघीय सांसद ऋषिकेश पोखरेल र प्रदेश सांसदहरू गणेश उप्रेती, लीलावल्लभ अधिकारी, ५ का संघीय सांसद योगेन्द्र मण्डल र प्रदेश सांसदहरू अमृत अर्याल र गयानन्द मण्डल, ४ का प्रदेश सांसद भीम पराजुली र जयप्रकाश चौधरीसहित रंगेली नगरपालिका प्रमुख दिलीप बगडिया, सुनवर्षी नगरपालिका प्रमुख श्याम राजवंशी, रतुवामाई नगरपालिका प्रमुख नागेश्वरप्रसाद सिंह, कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले सात दिनभित्र काम सुरु नभए राजमार्गमा यातायात ठप्प पारेर धर्नामा बस्ने घोषणा गर्दै सडक संघर्ष थालेका हुन् ।

हुलाकी राजमार्ग निर्माणमा भएको ढिलासुस्तीले मोरङको २, ४ र ५ निर्वाचन क्षेत्रका तीन लाखभन्दा बढी जनताले निकै दुःख–कष्ट पाएका छन् । स्थानीयले हिउँदमा धुलो र वर्षायाममा हिलोको सास्ती भोगिरहेका छन् ।

सांसद ऋषिकेश पोखरेलले हुलाकी सडक निर्माण चाँडो सम्पन्न गर्न पटकपटक आयोजना कार्यालय र ठेकेदार कम्पनीलाई आग्रह गर्दा पनि प्रगति अगाडि नबढेकाले सडक संघर्ष घोषणा गर्न बाध्य हुनुपरेको बताए ।

‘हामीले काम चाँडो सम्पन्न गराउन गर्ने जति सबै प्रयास गरिसक्यौँ, तर ठेकेदार कम्पनीले वास्तै गरेनन् । बरु आजकल कामै छाडेर बेपत्ता भएका छन्, यसैले संघर्ष गर्न बाध्य भएका हौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *