कैलालीमा वन अतिक्रमण गरी बनाइएका साढे चार सय टहरा भत्काइएको छ। डिभिजन वन कार्यालय धनगढीले गोदावरी नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको छेउछाउसँगै चौकीडाँडा र बडिमालिका सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाएको हो।
डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख भीमप्रसाद ढकालले सूचना प्रकाशित गरेर उक्त क्षेत्रबाट हट्न पटकपटक आग्रह गर्दा पनि नमानेपछि डोजर लगाएर घरटहरा भत्काइएको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा वन रक्षकसहितको टोलीले बल प्रयोग गरेर अतिक्रमित क्षेत्र खाली गरेको हो।
उक्त क्षेत्रमा करिब चार वर्षदेखि अतिक्रमण गरेर केही टहरा बनाइएको भए पनि केही समययता अतिक्रमण तीव्र रूपमा बढेको थियो। गोदावरी–३, को मालाखेती क्षेत्रमा राजमार्गको छेउछाउतिर केही परिवार लामो समयदेखि सडक किनारामा बस्दै आएका थिए।
अहिले जग्गा पाइने भन्दै सुदूरपश्चिमका पहाडी जिल्लाबाट सयौँको संख्यामा मानिसहरू आएर त्यहाँ वन क्षेत्र अतिक्रमण गरी टहरा बनाएका थिए।
डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख ढकालले अतिक्रमणमा संलग्न सुकुमबासी नभएको दाबी गरे। गोदावरीकै अरू ठाउँमा घर भएका र सुदूरपश्चिमका पहाडी क्षेत्रबाट आएकाहरूले अतिक्रमण गरेको उनले बताए।