काठमाडौं उपत्यकामा सडक जामकै कारण बर्सेनि एक खर्ब १६ अर्ब ४९ करोड आर्थिक क्षति हुने गरेको छ ।
जामको समयमा हुने इन्धन खपत, सवारीसाधनको भारले सडक बिग्रिँदा गर्नुपर्ने मर्मत लागत, ट्राफिक व्यवस्थापन खर्च, वायु तथा ध्वनि प्रदूषण, सवारीसाधनको इन्जिनमा पर्ने भार, चालक र यात्रुको स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणलाई आधार मानेर क्षतिको यो हिसाब निस्किएको हो ।
जामका कारण वार्षिक दुई अर्ब ८२ करोड ७८ लाख २६ हजार पाँच सय ५० रुपैयाँ बराबरको अतिरिक्त इन्धन खर्च हुने अध्ययनको निष्कर्ष छ । जामका क्रममा चालकले सवारीसाधन स्टार्टमै राख्छन् र बिस्तारै गुडाउँछन्, जसकारण इन्धन बढी खपत हुने अध्ययनले जनाएको छ ।
त्यस्तै, सवारीसाधनको आयु घटेर वार्षिक ३३ अर्ब १८ करोड ८१ लाख ५२ हजार तथा प्रदूषणले सात अर्ब ५० करोड ७० लाख ५० हजारको क्षति निम्त्याउने अध्ययनले देखाएको छ ।
जाम व्यवस्थापनका ट्राफिक जनशक्ति परिचालनमा १९ करोड १९ लाख तीन हजार तीन सय ६० सवारीसाधनको भारले सडक बिग्रिँदा गर्नुपर्ने मर्मतमा ३५ करोड ९७ लाख ४४ हजार र जामका क्रममा हुने घटना–दुर्घटनाबाट १२ करोड २१ लाख खर्च हुने पनि अध्ययनले देखाएको छ ।