भारतको वेदान्त लिमिटेडले नेपालबाट दुई हजार मेगावाट विद्युत् किन्ने भएको छ। वेदान्तले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)मार्फत नेपालबाट आगामी ५ वर्षमा सोबराबरको विद्युत् किन्ने भएको हो।
बुधबार काठमाडौंमा सम्पन्न पावर समिट २०२३ मा वेदान्तले नेपेक्सलाई सोबराबरको विद्युत् किन्ने आशयपत्र दिएको हो। नेपेक्सका प्रबन्ध निर्देशक आशिष गर्गले वेदान्तले दीर्घकालीन रूपमै नेपालबाट सोबराबरको बिजुली किन्ने आयशपत्र पेस गरेको बताए।
अहिले भारतमा कोइला तथा डिजेलबाट उत्पादन हुने विद्युत् बढी प्रयोग हुन्छ। कोइला तथा डिजेल पावर प्लान्टले वातावरणमा समेत प्रभावित छ। २०४५ सम्म विश्वलाई शून्य कार्बनमा पुर्याउने विश्वव्यापी लक्ष्यसमेत छ।
सोही लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने गरी नेपालबाट क्लिन इनर्जी खरिद गर्ने वेदान्तका प्रमुख कार्यकारी अधिकृत (पावर) विभव अग्रवालले भर्चुअल रूपमा जानकारी दिए।
योसँगै पावर समिटले नेपालको २२ सय मेगावाट बिजुली निजी क्षेत्रमार्फत भारतमा बिक्री गर्ने आधार तय गरेको छ। मंगलबार समिटको उद्घाटन समारोहमा भारतको मणिकरण पावर कम्पनीसँग नेपालका चुवाखोला, कसुवाखोला लगायतका आयोजनाबाट २०० मेगावाट विद्युत् खरिद बिक्री गर्ने गरी समझदारी भइसकेको छ।