नासा फाउण्डेशन नेपालको आयोजना, सडक सुरक्षाका लागि एनजीओको ग्लोबल एलायन्सको सहयोग र अटोमोबाइल महासंघ (एफआईए) सँगको आबद्धतामा तेस्रो काठमाडौं सडक सुरक्षा चलचित्र महोत्सव सम्पन्न भएको नेपाल अटोमोबाइल एसोसिएसनले जनाएको छ ।
नेपाल अटोमोबाइल एसोसिएसन (नासा)का अध्यक्ष दशरथ रिसालका अनुसार नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा सम्पन्न उक्त फेस्टिवलमा कुल उत्कृष्ट ९ वटा सर्ट फिल्मले सहभागिता जनाएका थिए ।
जसमध्ये गणेश उपाध्यायद्वारा निर्देशित फिल्म ‘ प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल भएको थियो भने कृष्ण शाहद्वारा निर्देशित फिल्म ‘आमा बाबाको उपहार’ दोस्रो र विवेक थापाद्वारा निर्देशित ‘प्रभावित’ नामक सर्ट फिल्म तेस्रो बन्न सफल भएको थियो ।
मोटर साइक्लिङ सेफ्टी थिममा आयोजना गरिएको फेस्टिवलका बिजेता फिल्महरुलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगद सहित शिल्ड, सर्टिफिकेट र युएन मान्यताप्राप्त सुरक्षित हेल्मेट समेत प्रदान गरियो ।
कलाकार आरपी पन्तको संयोजकत्वमा रेजिना उप्रेती, रामशरण पाठक, ई. आशिष गजुरेल र नविन निरौला सम्मिलित जुरी टिम गठन गरिएको थियो, जसले विनोद पाण्डे निर्देशित ‘स्थानीय चिया’ लाई ‘स्पेशल जुरी अवार्ड’ प्रदान गर्यो ।
कार्यक्रममा सुदुर पश्चिम प्रदेश सभा सदस्य मा. शिवसिंह ओली, यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र कंडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शुरेश श्रेष्ठ, नेशनल रोड सेफ्टी काउन्सिल नेपालका सरोज कुमार प्रधान, नेपाल ट्राफिक प्रहरीका एसपी अभि नारायण काफ्ले, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नेशनल एलाइन्स फर रोड सेफ्टीका डा. बुलन्द थापा लगायतले आफ्नो मन्तव्य राख्नुका साथै विजयी तथा सहभागी फिल्महरूलाई शिल्ड, सर्टिफिकेट तथा पुरस्कार रकम प्रदान गर्नुभयो ।