अप्रिलिया रेसिङले २०२६ मोटोजीपी पोर्चुगिज ग्रान्ड प्रिक्सको स्प्रिन्ट रेसमा वर्ल्ड च्याम्पियनसिपको उपाधि जितेको छ। यो अप्रिलिया रेसिङको इतिहासमा ५५औँ विश्व उपाधि हो भने प्रिमियर मोटोजीपी सेगमेन्टमा पहिलो टिम वर्ल्ड च्याम्पियनसिप उपाधि हो।
सन् २०१५ मा आरएस जीपी प्रोजेक्टको साथमा मोटोजीपीमा प्रवेश गरेको अप्रिलियाका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता बनेको छ।
रोमानो अल्बेसियानोको निर्देशनमा सुरु भएको परियोजनाले प्रत्येक सिजन प्राविधिक विकास र प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्दै आएको थियो। सन् २०१९ मा मासिमो रिभोला सीईओका रूपमा जोडिएपछि टोलीको लगानी र प्रतिबद्धताले थप गति लियो।
सन् २०२१ मा सिल्भरस्टोनमा एलेक्स एस्पार्गारोले पहिलो पोडियम हासिल गरेपछि टोलीको सफलताको यात्रा अझ बलियो बनेको थियो। सन् २०२२ मा फ्याक्ट्री टोली बनेपछि अर्जेन्टिना ग्रान्ड प्रिक्समा पहिलो जित र सन् २०२३ मा क्याटालुन्या ग्रान्ड प्रिक्समा १–२ को ऐतिहासिक नतिजाले अप्रिलियालाई उपाधि दाबेदार टोलीका रूपमा स्थापित गर्यो।
सन् २०२४ को संक्रमणकालीन सिजनपछि अप्रिलिया रेसिङले २०२५ का लागि मार्को बेजेची र जर्ज मार्टिनलाई आफ्नो राइडरका रूपमा अनुबन्ध गरेको थियो। त्यस्तै, फाबियानो स्टेरलाचिनीलाई प्राविधिक निर्देशक नियुक्त गर्दै आरएसजीपीको विकासलाई थप तीव्र बनाइएको थियो। २०२५ सिजनमा टोलीले सिल्भरस्टोन, पोर्टिमाओ र भ्यालेन्सियामा गरी ३ ग्रान्ड प्रिक्स जित, ३ स्प्रिन्ट जित, १५ पोडियम र ५ पोल पोजिसन हासिल गरेको थियो।
२०२६ सिजनमा अप्रिलिया रेसिङले लगातार प्रभावशाली प्रदर्शन गर्दै ७ ग्रान्ड प्रिक्स जित हासिल गरेको थियो, जसमा मार्को बेजेचीले ६ र जर्ज मार्टिनले १ जित हात पारे। गोइनिया, अस्टिन, ले मान्स र मुगेलोमा टोलीले चार पटक १–२ फिनिश गर्दै आफ्नो दक्षता देखाएको थियो। साथै अस्टिन, ले मान्स, सिल्भरस्टोन, स्पिलबर्ग र पोर्टिमाओमा गरी ५ स्प्रिन्ट जित, कुल ३८ पोडियम र १० पोल पोजिसन हासिल गरेको थियो।
टोलीको अर्को महत्वपूर्ण उपलब्धि विभिन्न सर्किटमा ल्याप रेकर्ड कायम गर्नु पनि हो। अप्रिलिया रेसिङले बुरिराम, गोइनिया, मुगेलो, सिल्भरस्टोन, आरागोन, मिसानो, मोटेगी, लुसेल र पोर्टिमाओ गरी ९ वटा विश्व च्याम्पियनसिप सर्किटमा रेकर्ड कायम गरेको छ।
इटालियन ग्रान्ड प्रिक्सका क्रममा मुगेलो सर्किटमा जर्ज मार्टिनले एफपीटुमा ३६८.६ किलोमिटर प्रतिघण्टाको टप स्पिड हासिल गरेका थिए। मार्को बेजेचीले सोही ग्रान्ड प्रिक्सको क्युटुमा उक्त गति बराबरी गर्दै मोटोजीपी इतिहासकै टप स्पिड रेकर्डलाई दोहोर्याएका थिए।
यस उपलब्धिसँगै आरएस जीपी२६ च्याम्पियनसिप इतिहासकै सबैभन्दा तीव्र मोटरसाइकल बनेको छ।