काठमाडौं । ललितपुरमा गरिएको सवारी प्रदूषण परीक्षणका क्रममा ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत भेटिएका छन् । अनुगमनका क्रममा परीक्षण गरिएका ३६ सवारीमध्ये ११ वटाले प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न नसकेको पाइएको हो ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त समन्वयमा गरिएको छड्के अनुगमनमा यस्तो तथ्य बाहिरिएको हो ।
ललितपुरको खुमलटार र सातदोबाटो क्षेत्रमा गरिएको परीक्षणमा कुल ३६ वटा सवारीसाधन सहभागी गराइएको थियो । तीमध्ये २५ वटा सवारीसाधनले प्रदूषण परीक्षण उत्तीर्ण गरेका थिए भने ११ वटा असफल भएका थिए । असफल सवारीको हिस्सा कुल परीक्षणको ३०.५६ प्रतिशत रहेको छ ।
सवारीसाधनबाट निस्कने धुवाँ वायु प्रदूषणको प्रमुख कारकमध्ये एक भएकाले यसको नियन्त्रणका लागि वातावरण विभाग र ट्राफिक प्रहरीले संयुक्त रूपमा नियमित अनुगमन तथा जाँच गर्दै आएका छन् ।
प्रदूषण परीक्षणमा असफल हुने सवारीसाधनमाथि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही हुने व्यवस्था छ । ऐनको दफा १६४ (१) (च) ले अवस्था ठीक नभएका सवारीसाधन सञ्चालन गर्न निषेध गरेको छ ।
उक्त व्यवस्था उल्लंघन गरी सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक १ हजार ५०० रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ ।