१२ अर्ब लगानीमा सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन निर्माण सुरु

काठमाडौं । भारतको सिलिगुढीदेखि नेपालको झापासम्म पेट्रोलियम पदार्थ ल्याउने अन्तरदेशीय पाइपलाइन निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। करिब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत रिमोट थिचेर परियोजनाको शुभारम्भ गरेका थिए। यो नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना हो।

नेपाल र भारतबीच भएको सरकार–सरकार (जीटुजी) सम्झौताअनुसार भारत सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउनेछ। निर्माणमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले प्राविधिक सहयोग गर्ने परियोजना प्रमुख सुरेन्द्र महतोले जानकारी दिएका छन्। निर्माण सुरु भएको मितिले ५४ महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ।

कुल ४९.६ किलोमिटर लामो हुने पाइपलाइनमध्ये भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४.६ किलोमिटर रहनेछ। भारतको सिलिगुढीस्थित आईओसी टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुलनजिकैबाट नेपाल प्रवेश गर्नेछ। त्यसपछि झापाको मेचीनगर नगरपालिका–६, १० र ११ हुँदै वडा नम्बर १३ स्थित चारआलीमा निर्माण हुने टर्मिनलमा पुगेर जोडिनेछ।

परियोजनाका लागि नेपाल आयल निगमले काँकरभिट्टादेखि चारआलीसम्म पाइपलाइन बिछ्याउने मार्ग र भण्डारणस्थलको जग्गा व्यवस्थापन गरिसकेको छ। सरकारले २०७४ सालमै चारआलीमा २३ बिघा ३ कट्ठा १३ धुर जग्गा उपलब्ध गराएको थियो। त्यहाँ फिल्ड कार्यालयसमेत स्थापना भइसकेको परियोजना प्रमुख महतोले बताएका छन्।

निगमले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र जग्गा व्यवस्थापनको प्रारम्भिक काम पूरा गरिसकेको छ। अब आईओसीले पाइपलाइन बिछ्याउने र भण्डारण गृह निर्माणको काम अघि बढाउनेछ।

पाइपलाइनमा आठ इञ्च व्यासका कार्बन स्टिल पाइप प्रयोग गरिनेछ। ती पाइप जमिनको सतहबाट कम्तीमा १.२ मिटर गहिराइमा गाडिनेछन्। सम्भावित चुहावट नियन्त्रण तथा सुरक्षाका लागि सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा) प्रणाली र फाइबर अप्टिक सेन्सिङ प्रविधि जडान गरिनेछ।

चारआलीमा निर्माण हुने ग्रिनफिल्ड टर्मिनलको भण्डारण क्षमता ३२ हजार ८०० किलोलिटर रहने परियोजनाका फिल्ड कार्यालय प्रशासन प्रमुख मनिष न्यौपानेले बताएका छन्। टर्मिनलमा डिजेल र पेट्रोल भण्डारणका लागि छुट्टाछुट्टै ट्याङ्की निर्माण गरिनेछ। साथै, स्मार्ट भर्टिकल ट्याङ्की, एकैपटक इन्धन भर्न सकिने आठवटा बे भएको ट्रक लोडिङ सुविधा र दुईवटा अग्नि नियन्त्रण पानी–फोम ट्याङ्की प्रणाली राखिनेछ।

पाइपलाइन निर्माणका क्रममा मेची, निन्दा, हडिया र फुलबासालगायत नदी पार गर्नुपर्ने भएकाले वातावरणीय प्रभाव न्यूनीकरणमा पनि विशेष ध्यान दिइनेछ। नदीको प्राकृतिक बहाव र जलचरको बासस्थानमा असर नपरोस् भन्नका लागि होरिजन्टल डिरेक्सनल ड्रिलिङ (एचडीडी) प्रविधि प्रयोग गरिने परियोजनाले जनाएको छ। यस प्रविधिबाट नदीको सतहभन्दा गहिराइमा पाइप बिछ्याइनेछ।

त्यस्तै, टर्मिनल सञ्चालनका क्रममा इन्धन वाष्पीकरणबाट हुने नोक्सानी र वायु प्रदूषण कम गर्न भेपर रिकभरी सिस्टम जडान गरिनेछ। तेल मिसिएको पानी प्रशोधनका लागि आयल वाटर सेपरेटरसमेत राखिनेछ।

यस परियोजनासम्बन्धी सहमति तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २०८० जेठमा भएको भारत भ्रमणका क्रममा भएको थियो। त्यसको कार्यान्वयनका लागि २०८१ असोजमा नयाँदिल्लीमा नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र आईओसीका निर्देशक सेन्थिल कुमारबीच निर्माणसम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *