कोरला नाकाबाट चार महिनामै भित्रिए ७ हजार विद्युतीय गाडी

 काठमाडौँ । विद्युतीय गाडीको आयातमा भएको वृद्धिले मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा समेत उल्लेख्य योगदान पुर्‍याएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामै कार्यालयले १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व उठाएको छ । यो कार्यालयका लागि निर्धारित वार्षिक राजस्व लक्ष्यभन्दा तीन अर्ब ५५ करोड रुपैयाँ बढी हो । चार महिनामै वार्षिक लक्ष्य नाघ्नुले कोरला नाकाबाट भइरहेको आयात व्यापारको आर्थिक महत्त्व बढ्दै गएको देखाएको छ ।

यस अवधिमा चीनबाट ३० अर्ब नौ करोड रुपैयाँ बराबरका विभिन्न मालसामान नेपाल आयात भएका छन् । त्यसको तुलनामा नेपालबाट चीनतर्फ हुने निर्यात भने निकै कम देखिएको छ । नेपालले यही अवधिमा २९ करोड ५२ लाख रुपैयाँ बराबरका हस्तकलाका सामग्री तथा अन्य नेपाली उत्पादन चीनतर्फ पठाएको छ ।

कोरला नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढ्दै जानु नेपाल–चीन व्यापारका लागि सकारात्मक पक्ष भए पनि त्यसअनुसार आवश्यक पूर्वाधार विकास हुन सकेको छैन । विशेषगरी सडकको अवस्था सुधार, ढुवानीका लागि आवश्यक साधनको व्यवस्था र दक्ष चालकको उपलब्धता सुनिश्चित गर्न नसक्दा आयातित गाडी व्यवस्थापनमै समस्या देखिएको छ ।

व्यापारिक गतिविधि बढेसँगै राजस्वमा उल्लेख्य योगदान पुर्‍याइरहेको कोरला नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सडक तथा ढुवानी पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता देखिएको छ । नत्र आयातको तथ्याङ्क बढे पनि सामान तथा सवारीसाधनलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउने चुनौती कायमै रहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *