चितवनमा मंसिर २५ देखि २७ गतेसम्म ‘विल्ड नेपाल एक्स्पो’ आयोजना गर्नुको मुख्य उद्देश्य चितवनमा निर्माण सामग्री तथा घरजग्गा व्यवसायको सम्भावनालाई थप विस्तार गर्नु हो।
चितवन भौगोलिक अवस्थाका हिसाबले मध्य नेपालको महत्वपूर्ण केन्द्र हो।
यहाँबाट देशका विभिन्न भूभागमा पुग्न सहज छ। यातायात, शिक्षा, स्वास्थ्य, व्यापार तथा भौतिक पूर्वाधारका दृष्टिले पनि चितवनले आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ।
त्यसैले चितवनलाई निर्माण, आवास तथा घरजग्गा क्षेत्रमा लगानी गर्न सकिने सम्भावनायुक्त क्षेत्रका रूपमा प्रवर्द्धन गर्नु आवश्यक छ भन्ने हाम्रो बुझाइ हो।
पछिल्लो समय चितवनमा विभिन्न प्रकृतिका मेला तथा महोत्सव आयोजना भइरहेका छन्।
तर निर्माण सामग्री र यससँग सम्बन्धित व्यवसायलाई मुख्य विषय बनाएर आयोजना गरिने कार्यक्रम भने पर्याप्त रूपमा हुन सकेको छैन।
निर्माण क्षेत्र आफैँमा ठूलो व्यावसायिक सम्भावना भएको क्षेत्र हो।
घर निर्माण गर्ने उपभोक्तादेखि ठूला आयोजना सञ्चालन गर्ने निर्माण व्यवसायी, सामग्री उत्पादक, वितरक र घरजग्गा व्यवसायीसम्मलाई एउटै ठाउँमा जोड्न सकियो भने त्यसले धेरैलाई फाइदा पुर्याउन सक्छ।
अघिल्लो वर्ष हामीले नै सानो स्तरमा यस्तो कार्यक्रम आयोजना गरेका थियौँ। त्यसबेला प्राप्त अनुभव र प्रतिक्रियाले यसलाई थप व्यवस्थित तथा बृहत् रूपमा अगाडि बढाउनुपर्छ भन्ने महसुस गरायो।
त्यसैको निरन्तरतास्वरूप यस वर्ष मंसिर २५ देखि २७ गतेसम्म तीन दिन ‘विल्ड नेपाल एक्स्पो’ आयोजना गर्न लागेका हौँ।
हामीले यसलाई सामान किनबेच गर्ने थलोका रूपमा मात्र हेरेका छैनौँ। निर्माण क्षेत्रका नयाँ प्रविधि, सामग्री, सेवा र व्यावसायिक सम्भावनाबारे जानकारी आदान-प्रदान गर्ने अवसरका रूपमा पनि लिएका छौँ।
उपभोक्ताले आफूलाई आवश्यक पर्ने सामग्रीबारे बुझ्न सकून्, व्यवसायीले आफ्ना उत्पादन र सेवा प्रस्तुत गर्न सकून् तथा लगानी गर्न चाहने व्यक्तिले नयाँ सम्भावना पहिचान गर्न सकून् भन्ने हाम्रो अपेक्षा छ।