ब्राजिलमा जेटुरले सन् २०२७ देखि एसयूभी उत्पादन गर्ने

काठमाडौँ । चिनियाँ सवारीसाधन निर्माता कम्पनी जेटुरले सन् २०२७ देखि ब्राजिलमै आफ्ना दुई एसयूभी मोडल टी१ र टी२ उत्पादन गर्ने भएको छ । दक्षिण अमेरिकी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने रणनीतिअन्तर्गत कम्पनीले ब्राजिलमा थप ४० करोड ब्राजिलियन रियाल (करिब ६ करोड ८६ लाख अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको हो ।

चेरी समूहअन्तर्गत रहेको जेटुरले स्थानीय उत्पादन सुरु गर्नुका साथै नयाँ मोडल बजारमा ल्याउने र बिक्री सञ्जाल विस्तार गर्ने योजनासहित लगानी बढाउन लागेको हो । जेटुर इन्टरनेसनलका अध्यक्ष के चुआनदेङले नोभेम्बर १८ मा रियो दि जेनेरियोमा आयोजित ग्लोबल फ्यान फेस्टिभलमा ब्राजिलमा उत्पादन सुरु गर्ने योजना सार्वजनिक गरेका थिए ।

कम्पनीले यसअघि पनि ब्राजिलमा ४० करोड रियाल लगानी गर्ने घोषणा गरिसकेको थियो । पछिल्लो घोषणासँगै ब्राजिलमा जेटुरको कुल प्रतिबद्ध लगानी ८० करोड रियाल पुगेको छ ।

यसअघि रोयटर्सले रियो दि जेनेरियो राज्य सरकारका दुई स्रोतलाई उद्धृत गर्दै जेटुरले इटाटियामा रहेको जगुआर ल्यान्ड रोभरको कारखाना प्रयोग गरेर सवारीसाधन उत्पादन गर्ने तयारी गरेको समाचार सार्वजनिक गरेको थियो । यद्यपि, कम्पनीले उत्पादन सुरु हुने समय र मोडलको टुङ्गो लगाए पनि कारखाना रहने स्थान भने सन् २०२७ को पहिलो त्रैमासिकभित्र मात्र सार्वजनिक गर्ने जनाएको छ ।

ब्राजिलमा सन् २०२६ को पहिलो छ महिनादेखि व्यावसायिक कारोबार सुरु गरेको जेटुरले हालसम्म आफ्ना आठ हजारभन्दा बढी गाडी दर्ता भइसकेको जनाएको छ । कम्पनीले टी२ का दुई संस्करणसहित विभिन्न छवटा मोडल तथा संस्करण त्यहाँको बजारमा उपलब्ध गराउँदै आएको छ ।

बिक्री सञ्जाल विस्तारलाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ । सन् २०२६ को अन्त्यसम्म डिलरको सङ्ख्या एक सय र सन् २०२७ को अन्त्यसम्म एक सय ५० पुर्‍याउने लक्ष्य जेटुरले लिएको छ ।

टी१ र टी२ पछि कम्पनीले टी सिरिजको प्रवेशस्तरको मोडल टी० पनि ब्राजिलमा बिक्री गर्ने तयारी गरेको छ । सन् २०२७ मा बजारमा ल्याउने लक्ष्य राखिएको टी० प्लग–इन हाइब्रिड र पूर्ण विद्युतीय गरी दुई विकल्पमा उपलब्ध हुनेछ । पूर्ण विद्युतीय संस्करण ब्राजिलमा जेटुरको पहिलो विद्युतीय गाडी बन्नेछ ।

ब्राजिलमा उत्पादन गर्ने तयारी गरिएका टी१ र टी२ नेपाली बजारमा समेत उपलब्ध छन् । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहबले जेटुरको आधिकारिक आयातकर्ता तथा वितरकका रूपमा यी दुवै एसयूभी नेपालमा बिक्री गर्दै आएको छ । ब्राजिलमा स्थानीय उत्पादन सुरु गर्ने कम्पनीको योजनाले जेटुरको अन्तर्राष्ट्रिय विस्तारसँगै नेपाली बजारमा समेत उपलब्ध यी मोडलको विश्वव्यापी उपस्थिति थप विस्तार हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *