बेलायतमा जेको ७ एसएचएस–पीको लक्जरी प्लस संस्करण सार्वजनिक, पहिलोपटक एडब्लूडी विकल्प

जेकोले बेलायतमा आफ्नो प्लग–इन हाइब्रिड एसयूभी ‘जेको ७ एसएचएस–पी’ को नयाँ लक्जरी प्लस संस्करण सार्वजनिक गरेको छ। नयाँ संस्करणसँगै कम्पनीले पहिलोपटक जेको ७ प्लग–इन हाइब्रिडमा अल–ह्विल ड्राइभ (एडब्लूडी) विकल्प पनि उपलब्ध गराएको छ।

लक्जरी प्लसको फ्रन्ट–ह्विल ड्राइभ (एफडब्लूडी) भेरियन्टको मूल्य ३७ हजार पाउन्ड र अल–ह्विल ड्राइभ भेरियन्टको मूल्य ३८ हजार ५०० पाउन्ड तोकिएको छ। बेलायतमा दुवै भेरियन्टको बुकिङ खुला भइसकेको छ। कम्पनीले सन् २०२७ को पहिलो त्रैमासिकदेखि ग्राहकलाई गाडी हस्तान्तरण गर्ने अपेक्षा गरेको छ।

दुवै भेरियन्टमा १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र विद्युतीय मोटर जडान गरिएको छ। एडब्लूडी भेरियन्टले ३४९ एचपी अधिकतम पावर र ४९० न्युटन मिटर टर्क उत्पादन गर्छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.९ सेकेन्डमै हासिल गर्न सक्छ। यस्तै, एफडब्लूडी भेरियन्टले २०१ एचपी पावर र ३६५ न्युटन मिटर टर्क प्रदान गर्छ।

नयाँ लक्जरी प्लस संस्करणमा ब्याट्री क्षमतासमेत बढाइएको छ। यसअघि जेको ७ प्लग–इन हाइब्रिडमा १८.४ किलोवाट आवरको ब्याट्री उपलब्ध थियो। तर, नयाँ संस्करणका दुवै भेरियन्टमा २६.६ किलोवाट आवरको ठूलो ब्याट्री दिइएको छ।

कम्पनीका अनुसार पूर्ण चार्जमा एफडब्लूडी भेरियन्टले पेट्रोल इन्जिन प्रयोग नगरी करिब १२७ किलोमिटर र एडब्लूडी भेरियन्टले करिब ११३ किलोमिटर यात्रा गर्न सक्छन्। यसले दैनिक यात्रामा विद्युतीय मोडको प्रयोगलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

चार्जिङ क्षमताका हिसाबले पनि नयाँ संस्करणमा सुधार गरिएको छ। लक्जरी प्लसले अधिकतम ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यस प्रविधिबाट ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १५ मिनेट मात्र लाग्ने कम्पनीको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *