काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ। कम्पनीका सबै बजारमा सुरक्षा रणनीति एकरूप बनाउँदै यात्रु, चालक तथा कुरियरको सुरक्षालाई प्राथमिकता दिने जिम्मेवारी अब जेम्ल्यान्स्कीले सम्हाल्ने भएका छन्।
नयाँ जिम्मेवारीअनुसार उनले याङ्गोका विभिन्न देशमा सञ्चालित मोबिलिटी सेवाको सुरक्षा रणनीति तयार पार्ने, प्रविधिको प्रयोगलाई प्राथमिकता दिने र सुरक्षा मापदण्डको कार्यान्वयनलाई प्रभावकारी बनाउनेछन्। यसका लागि उनले कम्पनीका उत्पादन, व्यवसाय तथा सञ्चालन विभागका नेतृत्वकर्तासँगै स्थानीय निकाय र सडक सुरक्षा क्षेत्रमा काम गर्ने संस्थाहरूसँग सहकार्य गर्नेछन्।
याङ्गो ग्रुपका सीईओ तथा सीबीओ एवं याङ्गो राइडटेकका एडेनीयी एडेबायोले कम्पनीको दीर्घकालीन व्यावसायिक विकासका लागि सुरक्षा र सेवाग्राहीको विश्वास महत्त्वपूर्ण रहेको बताएका छन्। जेम्ल्यान्स्कीको नियुक्तिले कम्पनीका उत्पादन विकासदेखि दैनिक सञ्चालनसम्मका निर्णयमा सुरक्षालाई केन्द्रमा राख्न सहयोग पुग्ने उनको भनाइ छ।
कम्पनीले मोबिलिटी सेवामा सम्भावित दुर्घटना र जोखिम न्यूनीकरण गर्न कृत्रिम बुद्धिमत्ता (एआई) सहित आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गर्ने योजना बनाएको छ। यसअन्तर्गत रुट निगरानी प्रणाली, चालक तथा कुरियरको पहिचान प्रमाणीकरण र सुरक्षा प्रक्रियालाई थप प्रभावकारी बनाइनेछ।
जेम्ल्यान्स्कीले विभिन्न देशको यातायात अवस्था र बजारको आवश्यकताअनुसार सुरक्षा प्रविधि लागू गर्न उत्पादन तथा सञ्चालन टोलीसँग समन्वय गर्नेछन्। दुर्घटना तथा सुरक्षा उल्लङ्घनका घटनाको विवरण संकलन मात्र नभई अपनाइएका उपायले जोखिम न्यूनीकरणमा कस्तो प्रभाव पारेका छन् भन्ने मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नु पनि उनको जिम्मेवारी हुनेछ।
याङ्गोले यसअघि लागू गरेका सुरक्षा अभ्यासलाई थप विस्तार गर्दै एउटा बजारमा प्रभावकारी देखिएका उपाय अन्य देशमा पनि लागू गर्ने तयारी गरेको छ। घटनाको पहिचान, मूल्याङ्कन, सम्बन्धित निकायलाई जानकारी तथा समाधानका लागि गरिने समन्वय प्रक्रियालाई समेत व्यवस्थित बनाइने कम्पनीले जनाएको छ।
सुरक्षा सुधारको प्रगतिबारे कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार गत सेप्टेम्बरमा सार्वजनिक पहिलो याङ्गो राइड सुरक्षा प्रतिवेदनले सकारात्मक नतिजा देखाएको छ। प्रतिवेदनमा विश्वभर प्रति १० लाख यात्रामा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेको उल्लेख छ। यसअघि ९.८३ रहेको यस्तो दर घटेर ६.७६ मा झरेको कम्पनीको दाबी छ।
मोबिलिटी सेवाको सुरक्षा योजनाअन्तर्गत चालकलाई तालिम दिने, मोटरसाइकल सेवामा हेल्मेट तथा अन्य सुरक्षात्मक सामग्री उपलब्ध गराउने र सडक सुरक्षाका लागि स्थानीय संस्थासँग सहकार्य गर्ने कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।
दक्षिण एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न देशमा पार्टनर चालक तथा कुरियरलाई लक्षित गरी हेल्मेट वितरण कार्यक्रम सञ्चालन गरिएको छ। पाकिस्तान, नेपाल, सेनेगल, कोलम्बिया र भेनेजुएलालगायतका देशमा सयौँ हेल्मेट वितरण गरिएको कम्पनीले जनाएको छ।
अफ्रिकी मुलुक जाम्बियाको लुसाकामा जाम्बिया रोड सेफ्टी ट्रस्टसँगको सहकार्यमा सञ्चालन गरिएको ‘सेफर जर्नीज टु स्कुल’ कार्यक्रममार्फत २० विद्यालयका ३२ हजार विद्यार्थीलाई सडक सुरक्षा शिक्षा प्रदान गरिएको छ। विद्यालय आसपास सुरक्षित सडक पार गर्ने व्यवस्था, सवारीसाधनको गति नियन्त्रण र सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम यसका मुख्य गतिविधि हुन्।
जाम्बियाबाट सुरु भएको यो कार्यक्रम सेनेगलसम्म विस्तार भइसकेको छ। अफ्रिकाका अन्य देशमा समेत कार्यक्रम सञ्चालन गर्ने कम्पनीको तयारी छ।
नवनियुक्त सुरक्षा प्रमुख जेम्ल्यान्स्कीले यात्रु, चालक र कुरियरको विश्वास कायम राख्न सम्भावित जोखिम पहिल्यै पहिचान गर्ने प्रविधिको विकास, सुरक्षा प्रक्रियाको सुदृढीकरण र सडक सुरक्षामा स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिने बताएका छन्। विभिन्न देशमा सफल भएका सुरक्षा अभ्यासलाई स्थानीय आवश्यकता र अवस्थाअनुसार लागू गर्नु आवश्यक रहेको उनको भनाइ छ।
जेम्ल्यान्स्कीले विगत पाँच वर्षदेखि राइड हेलिङ सेवामा सुरक्षा प्रविधिसम्बन्धी क्षेत्रमा काम गर्दै आएका छन्। उनले टेक्निकल प्रोडक्ट म्यानेजरका रूपमा करिअर सुरु गरी हेड अफ सेफ्टी टेक्नोलोजिजसम्मको जिम्मेवारी सम्हालेका थिए। चालक तथा कुरियरको पहिचान प्रमाणीकरण, प्रयोगकर्ता खाताको सुरक्षा र सुरक्षा मापदण्डको मूल्याङ्कनमा उनीसँग अनुभव रहेको कम्पनीले जनाएको छ।
संयुक्त अरब इमिरेट्समा मुख्यालय रहेको याङ्गो ग्रुपले विश्वका विभिन्न देशमा डिजिटल प्रविधिमा आधारित सेवा प्रदान गर्दै आएको छ। मोबिलिटी, डेलिभरी, फुडटेक र मनोरञ्जनलगायतका क्षेत्रमा सक्रिय कम्पनीले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व र दक्षिण एसियासहित ३५ भन्दा बढी देशमा सेवा विस्तार गरेको छ। स्थानीय आवश्यकता र बजारको अवस्थाअनुसार विश्वस्तरीय प्रविधि उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले सहरी जीवनलाई डिजिटल माध्यमबाट सहज बनाउने काम गर्दै आएको छ।