जर्मन प्रिमियम कार निर्माता बीएमडब्लूले आफ्ना नयाँ मोडलका विद्युतीय सवारी सस्तो बनाउन नयाँ उपाय अपनाउने भएको छ ।
कम्पनीले तुलनात्मक रूपमा सस्तो मानिने लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गर्दै कम मूल्यका विद्युतीय गाडी उत्पादन गर्ने रणनीति अघि सारेको हो । कम्पनीले यस निर्णयले बीएमडब्लूका कारहरूलाई अझ सुलभ र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।
बीएमडब्लूका प्रमुख कार्यकारी अधिकृत मिलान नेडेल्कोभिचले कम्पनीको तेस्रो त्रैमासिक वित्तीय नतिजा सम्बन्धी छलफलका क्रममा नयाँ पुस्ताका ‘न्यु क्लासे’ विद्युतीय गाडीमा एलएफपी ब्याट्री प्रयोग गरिने पुष्टि गरेका हुन् ।
उनका अनुसार हाल न्यु क्लासे सिरिजका अधिकांश गाडीमा निकेल–म्याङ्गानिज–कोबाल्ट (एनएमसी) ब्याट्री प्रयोग भइरहेको छ । एनएमसी ब्याट्रीले बढी रेन्ज दिने भए पनि एलएफपी ब्याट्री लागतका हिसाबले सस्तो विकल्प हो । त्यसैले ग्राहकको आवश्यकता र बजेटअनुसार फरक ब्याट्री विकल्प उपलब्ध गराउने कम्पनीको योजना छ ।
यद्यपि, कम्पनीले कुन मोडलमा एलएफपी ब्याट्री प्रयोग गर्ने र चीनबाहिरका बजारमा कहिलेदेखि उपलब्ध गराउने भन्ने खुलाएको छैन । बीएमडब्लूले चीनमा उपलब्ध गराएको आईएक्स ३ ३० एलमा एलएफपी ब्याट्री प्रयोग गरिसकेको छ । उक्त गाडीमा ७७ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले एकपटकको फुलचार्जमा ६३० किलोमिटर सीएलटीसी रेन्ज दिने दाबी गरिएको छ ।
तर, आईएक्स३ ४०एल र ५०एलका महँगा भेरियन्टमा भने एनएमसी ब्याट्री प्रयोग गरिएको छ । यसले एउटै मोडलमा फरक ब्याट्री विकल्प दिएर ग्राहकलाई मूल्य र रेन्जमध्ये आफूलाई उपयुक्त विकल्प छनोट गर्ने सुविधा दिएको छ ।