भारतीय बजारमा प्रवेश गर्दै इटालजेट, तीन प्रिमियम स्कुटर ल्याउने

काठमाडौं । इटालियन प्रिमियम टु–ह्विलर ब्रान्ड इटालजेटले भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बरमा तीन नयाँ स्कुटर सार्वजनिक गर्दै भारतमा औपचारिक प्रवेश गर्न लागेको हो ।

भारतमा इटालजेटका स्कुटरको बिक्री तथा वितरणको जिम्मेवारी मोटोहाउस इन्डियाले लिएको छ । कम्पनीका अनुसार डिसेम्बर ४ र ५ मा आयोजना हुने इन्डिया बाइक विक २०२६ मार्फत ब्रान्डसहित तीनवटा स्कुटर सार्वजनिक गरिनेछ ।

भारतीय बजारमा प्रवेश गर्ने इटालजेटका मोडलमा ड्रागस्टर ३००, ड्रागस्टर ४५९ र ड्रागस्टर ७०० रहेका छन् । यी स्कुटर महाराष्ट्रको कोल्हापुरस्थित मोटोहाउसको उत्पादन केन्द्रमा एसेम्बल गरिनेछन् । सार्वजनिक भएपछि ग्राहकलाई स्कुटर उपलब्ध गराउने प्रक्रिया भने सन् २०२७ को दोस्रो त्रैमासिकदेखि सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

इटालजेटका स्कुटर आकर्षक तथा फरक डिजाइन, खुला ट्रेलिस फ्रेम र विशिष्ट इन्जिनियरिङका लागि परिचित छन् । भारतीय बजारमा आफ्नो बिक्री सञ्जाल विस्तार गर्ने क्रममा कम्पनीले सात प्रमुख सहरमा छुट्टाछुट्टै इटालजेट एक्सपिरियन्स सेन्टरसमेत स्थापना गर्ने योजना बनाएको छ ।

इटालजेट यसअघि नै नेपाली बजारमा उपलब्ध ब्रान्ड हो । नेपालमा यसका स्कुटर क्रसफायर मोटरसाइकलको आधिकारिक वितरकसमेत रहेको क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *