काठमाडौं । दसैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ । घटस्थापनादेखि पछिल्लो पाँच दिनमा मात्रै ३ लाख ४८ हजार ३१४ जना यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा आबद्ध मानिसहरू चाडपर्व मनाउन आफ्नो घर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चाप बढेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा समेत यात्रुको आवागमन बढ्दै गएको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार असोज २५ गते ५२ हजार ८२७ जना यात्रुले उपत्यका छाडेका थिए । त्यसपछि असोज २६ गते ५६ हजार ८०९, २७ गते ७८ हजार १३८, २८ गते ७४ हजार ९७९ र २९ गते ८५ हजार ५६१ जना बाहिरिएका छन् ।
दैनिक रूपमा बाहिरिने यात्रुको सङ्ख्या हेर्दा असोज २९ गते सबैभन्दा धेरै यात्रुले उपत्यका छाडेका छन् । उक्त दिन मात्रै ८५ हजारभन्दा बढी यात्रु बाहिरिएका हुन् ।
दसैंका लागि यात्रुहरू फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती तथा ललितपुरको भट्टेडाँडा नाका हुँदै बाहिरिएका छन् ।
यात्रुको चाप बढ्दै जाँदा सार्वजनिक यातायातको व्यवस्थापनमा पनि चुनौती थपिएको व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष तथा नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको अवस्थाका कारण सवारीसाधन सञ्चालन र यात्रु व्यवस्थापनमा कठिनाइ भइरहेको बताए ।
दसैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन राजधानीबाट बाहिरिने यात्रुको चाप अझै बढ्न सक्ने भएकाले सडकको अवस्था र यातायात व्यवस्थापन यस अवधिमा महत्त्वपूर्ण बनेको छ ।