बेनी–जोमसोम–कोरला सडक सोमबारदेखि खुलाउने तयारी

काठमाडाैं। बाढीपहिरोले क्षतिग्रस्त बनेको बेनी–जोमसोम–कोरला सडकको मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । सडक मर्मतको काम लगभग सकिन लागे पनि नियमित र सुरक्षित रूपमा यातायात सञ्चालन गर्न थप काम गर्नुपर्ने देखिएको छ ।

गत असोज ८ देखि ११ गतेसम्म आएको बाढीपहिरोले २०२ किलोमिटर लामो सडकको विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो । सडकका ५० स्थानमा पहिरो खसेको, सडक भासिएको तथा १० स्थानमा कालीगण्डकी नदीको कटानले सडक बगाएको थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सडक तथा पुलको पहुँचमार्ग निर्माण भएपछि बिहीबार साँझ अत्यावश्यक सवारीसाधन सञ्चालनमा आएका छन् । यद्यपि, सडकको पूर्ण मर्मत, पहिरो हटाउने, भासिएका स्थानमा माटो भर्ने र सतह मिलाउनेलगायतका काम अझै बाँकी छन् ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बाँकी मर्मतकार्य आइतबारसम्म सम्पन्न गरी सोमबारदेखि यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ । सडकको अवस्था पूर्ण रूपमा सहज नहुँदासम्म सवारीसाधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।

सडकमा सबैभन्दा बढी क्षति केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता र खहरेखोला क्षेत्रमा भएको छ । म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त बनेको सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

सुवेदीका अनुसार बाढीपहिरोबाट सडकमा करिब ९० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । सडकलाई नयाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न थप तीन अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । अत्यधिक वर्षा, कमजोर भूगोल, सहायक नदीमा आएको बाढी, नयाँ पहिरो तथा जलविद्युत् आयोजनाबाट नदी किनारमा फालिएको माटोका कारण कालीगण्डकीमा बाढीको प्रभाव बढेर ठूलो क्षति भएको उनको भनाइ छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका कोरलालाई जोड्ने सडक अवरुद्ध हुँदा आयात–निर्यात, पर्यटन तथा स्थानीय आवागमन प्रभावित भएको छ । दसैँलाई लक्षित गरी कोरलानाकाबाट आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा रोकिएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार सडकमा यातायात सञ्चालन व्यवस्थित बनाउन अत्यावश्यक सेवा, मालवाहक सवारीसाधन, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकताका आधारमा सञ्चालन गरिनेछ । साँघुरा तथा जोखिमयुक्त स्थानमा सवारी जाम हुन नदिन सुरक्षाकर्मी परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

सडकको अवस्था पूर्ण रूपमा सहज नहुँदासम्म घुमघामका लागि आउने पर्यटकलाई आफ्नो भ्रमण केही दिन पछाडि सार्न प्रशासनले अनुरोध गरेको छ । म्याग्दी र मुस्ताङका जिल्ला सुरक्षा समितिले संयुक्त बैठकमार्फत यातायात सञ्चालनलाई व्यवस्थित बनाउने कार्ययोजना तयार गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *