नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिन व्यवसायीलाई निर्देशन दिएको छ।
महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा चाडपर्वका समयमा सार्वजनिक यातायातलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन तथा अनलाइन बुकिङलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
महासंघले यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र यात्रुवाहक सवारी सञ्चालन गर्नुपर्ने जनाएको छ। साथै, उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग समन्वय गर्न आग्रह गरिएको छ।
टिकट बिक्रीमा संलग्न कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने तथा अनधिकृत काउन्टर वा परिचयपत्र र पोसाक नलगाएका व्यक्तिबाट टिकट बिक्री हुने कार्य नियन्त्रण गर्न महासंघले निर्देशन दिएको छ। यात्रुले पनि आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट टिकट लिएर मात्र यात्रा गर्नुपर्ने जनाएको छ।
महासंघले सार्वजनिक सवारीसाधनमा मादक पदार्थ सेवन गरी यात्रा गर्ने यात्रुमाथि आवश्यक कारबाही गर्न पनि आग्रह गरेको छ।
चालक तथा कर्मचारीले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका स्थानमा मात्रै यात्रुलाई खाना तथा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
हाल देशभर भारी वर्षा, बाढी तथा पहिरोको जोखिम रहेकाले मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण, आवश्यक मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
चाडपर्वका समयमा आवश्यक सवारीसाधनको व्यवस्था गर्ने, यात्रुवाहक सवारीको रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङ र ठुला सवारीसाधनको आवतजावतबारे सरोकारवालासँग छलफल गरी समयमै सूचना जारी गर्ने महासंघले जनाएको छ।
लामो दूरीमा सञ्चालन हुने सवारीसाधनका चालकको स्वास्थ्य परीक्षण गर्न, बिरामी परेका चालकको स्थानमा वैकल्पिक चालक व्यवस्था गर्न तथा लामो दूरीका सार्वजनिक सवारीमा कम्तीमा दुईजना चालक राख्न पनि महासंघले आग्रह गरेको छ।