काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायीमैत्री बनाउन सरकारसँग आग्रह गरेको छ।
नाईमा का प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी एजेन्सी दर्तासम्बन्धी नियमका कारण अटोमोबाइल व्यवसायमा परेको प्रभावबारे छलफल गरेको हो।
छलफलका क्रममा नाइमाले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु तथा उत्पादन कम्पनीको एजेन्ट नियुक्त गर्दा खरिद मूल्यको ०.५ प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्था र नियममा ‘वस्तु’को परिभाषा स्पष्ट नहुँदा व्यवसायीलाई परेको समस्याबारे ध्यानाकर्षण गराएको जनाएको छ।
नाईमा का अनुसार एउटै ब्रान्डका विभिन्न मोडललाई अलग–अलग वस्तु मानेर प्रत्येक मोडलका लागि छुट्टाछुट्टै धरौटी माग्दा व्यवसायीको ठूलो रकम रोकिँदै आएको छ। यसबाट व्यवसायीमाथि अतिरिक्त आर्थिक भारसमेत थपिएको एसोसिएसनको भनाइ छ।
एसोसिएसनले ‘वस्तु’को परिभाषा स्पष्ट गरी एउटै ब्रान्डका विभिन्न मोडलका लागि छुट्टाछुट्टै धरौटी लिनुपर्ने व्यवस्था हटाउन सरकारसँग आग्रह गरेको छ। यस विषयमा नाइमाले यसअघि पनि मन्त्रालयमा लिखित सुझाव पेस गरेको जनाएको छ।
नियम पुनरावलोकन गर्ने मन्त्रीको प्रतिबद्धता
छलफलका क्रममा उद्योगमन्त्री भण्डारीले नाइमा ले उठाएको विषयलाई सकारात्मक रूपमा लिँदै विद्यमान निर्णयहरूको पुनरावलोकन गर्न एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायीमैत्री बनाउने गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नाइमा ले जनाएको छ।
नाइमाले मन्त्रालयको सकारात्मक पहलप्रति आभार व्यक्त गर्दै नियम पुनरावलोकनका क्रममा आवश्यक तथ्य, विवरण तथा सुझाव उपलब्ध गराई मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
भेटमा नाइमाका बोर्ड सदस्यहरू निराकार श्रेष्ठ र उदयन काब्रा, रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छा तथा NAIMA का सदस्य कम्पनीहरू Shasheela Motors Pvt. Ltd., Omni Motors Pvt. Ltd., Spark Automotives Pvt. Ltd. र Continental Trading Enterprises का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै, नाइमाका कार्यकारी निर्देशक राजकुमार तुलाधर पनि सहभागी थिए।