हिमालय अर्गनाइजेसनका कमर्सियल तथा विद्युतीय सवारीमा ८० प्रतिशतसम्म फाइनान्सिङ

काठमाडौं । हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच कमर्सियल तथा विद्युतीय सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।

नेपालमा वातावरणमैत्री, आधुनिक तथा दिगो यातायात सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रालि तथा सम्बद्ध कम्पनीहरू र गोर्खाज फाइनान्सबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

सम्झौतासँगै हिमालय अर्गनाइजेसनबाट बिक्री–वितरण हुने कमर्सियल तथा विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकले ८० प्रतिशतसम्म सहज तथा झन्झटरहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्।

समझदारीपत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका छन्।

 वर्षसम्मको भुक्तानी अवधि

सम्झौताअनुसार ग्राहक तथा यातायात व्यवसायीले प्रतिस्पर्धी ब्याजदरमा अधिकतम ७ वर्षसम्मको लचिलो भुक्तानी अवधिसहित ८० प्रतिशतसम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन्।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै आवश्यक सम्पूर्ण कागजात पेस भएको अवस्थामा ३ देखि ५ कार्यदिनभित्र कर्जा स्वीकृत हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यो सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका शाखा सञ्जालमार्फत तत्काल उपलब्ध हुने बताइएको छ।

विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी

पोखरामा कर्पोरेट कार्यालय तथा काठमाडौंको गैह्रीधारामा प्रमुख कार्यालय रहेको हिमालय अर्गनाइजेसनले नेपालमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका कमर्सियल तथा विद्युतीय सवारीसाधन बिक्री–वितरण गर्दै आएको छ।

अर्गनाइजेसनले एसएआईसी मोटरको प्रिमियम ब्रान्ड म्याक्ससका पिकअप तथा युटिलिटी सवारी, डोङफेङका विद्युतीय सिटी तथा स्कुल बस, हुबेई ट्राइ–रिङ मोटर्सका विद्युतीय ट्रक तथा टिपर र फोर्स मोटर्सका कमर्सियल तथा प्यासेन्जर सवारीसाधन बिक्री गर्दै आएको जनाएको छ।

म्याक्ससका सवारीमा उच्च ब्याट्री क्षमता, फोर ह्विल ड्राइभ, सनरुफ, एयर सस्पेन्सन सिस्टम, समायोजन गर्न सकिने ग्राउन्ड क्लियरेन्स तथा उच्च भारवहन क्षमताजस्ता विशेषता रहेको कम्पनीको दाबी छ।

त्यस्तै, डोङफेङका विद्युतीय बसहरू ७, ९, १०, ११ र १२ मिटरका विभिन्न आकारमा उपलब्ध हुने बताइएको छ। कम्पनीका अनुसार यी बसहरू सहरी सार्वजनिक यातायात तथा शिक्षण संस्थाका लागि प्रयोग गर्न सकिनेछन्।

हुबेई ट्राइ–रिङका ४ टनदेखि ३१ टनसम्म क्षमताका विद्युतीय ट्रक तथा टिपर उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी सवारीले ढुवानी तथा लजिस्टिक्स क्षेत्रमा सञ्चालन लागत घटाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।

फोर्स मोटर्सका कमर्सियल तथा प्यासेन्जर सवारीसाधन पनि हिमालय अर्गनाइजेसनले नेपालमा बिक्री–वितरण गर्दै आएको छ।

दुई संस्थाबीचको सहकार्यबाट कमर्सियल तथा विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहक, यातायात व्यवसायी, उद्यमी तथा संस्थागत ग्राहकलाई वित्तीय पहुँच सहज हुने अपेक्षा गरिएको छ। साथै, हरित तथा दिगो यातायातको विस्तारमा समेत सहकार्यले योगदान पुर्‍याउने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *