ईभी बजारमा टोयोटाको नयाँ दाउ, चीनमा ईआरईभी उत्पादन गर्ने तयारी

काठमाडौं । विद्युतीय सवारीको विश्वकै ठूलो बजार चीनमा आफ्नो उपस्थितिलाई नयाँ प्रविधिमार्फत बलियो बनाउने तयारी टोयोटाले गरेको छ । जापानी सञ्चारमाध्यम निकेई एसियाका अनुसार कम्पनीले चीनमै एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल (ईआरईभी) उत्पादन गर्ने रणनीति अघि सारेको हो ।

ईआरईभी प्रविधिमा गाडीको पाङ्ग्रा घुमाउने काम विद्युतीय मोटरले गर्छ । ब्याट्रीको चार्ज घट्दै गएपछि पेट्रोल इन्जिनले सिधै पावर दिने नभई जेनेरेटरका रूपमा काम गर्दै विद्युत् उत्पादन गर्छ र त्यसबाट ब्याट्रीलाई ऊर्जा उपलब्ध हुन्छ । यसले पूर्ण ईभीको जस्तै विद्युतीय ड्राइभिङ अनुभवसँगै लामो यात्रामा रेन्जसम्बन्धी चिन्ता कम गर्ने उद्देश्य राख्छ ।

रिपोर्टअनुसार टोयोटाले चीनमा सुरुवातमा सीमित संख्यामा ईआरईभी उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीले २०२७ सम्म वार्षिक २ लाख युनिट उत्पादन गर्ने लक्ष्य राखेको दाबी गरिएको छ । त्यसपछि २०२८ मा उत्पादन क्षमता दोब्बर पार्दै करिब ४ लाख युनिट पुर्‍याउने योजना रहेको बताइएको छ ।

यो योजना टोयोटाले लामो समयदेखि अघि बढाउँदै आएको बहुप्रविधि विद्युतीकरण रणनीतिमा नयाँ अध्यायका रूपमा आएको छ । कम्पनीले हालसम्म हाइब्रिड, प्लग–इन हाइब्रिड, ब्याट्री इलेक्ट्रिक र हाइड्रोजन फ्युल–सेल प्रविधिलाई समानान्तर रूपमा अघि बढाउँदै आएको छ ।

तर चीनको बजारमा ब्याट्री ईभीको प्रतिस्पर्धा र मूल्य दबाब बढ्दै गएपछि टोयोटाले स्थानीय बजारअनुकूल अर्को प्रविधिमा ध्यान केन्द्रित गर्न खोजेको देखिन्छ । चीनमा ईआरईभीको माग पनि विस्तार हुँदै गएकाले यसलाई परम्परागत हाइब्रिडभन्दा फरक विकल्पका रूपमा अघि बढाउन सकिने कम्पनीको रणनीति रहेको बताइएको छ ।

टोयोटाका एक कार्यकारीका अनुसार चिनियाँ अटो बजार तीव्र रूपमा ब्याट्री ईभीतर्फ सर्दै गएको छ भने मूल्य प्रतिस्पर्धा पनि चर्किएको छ । यस्तो अवस्थामा बजारको परिवर्तनसँगै अघि बढ्न नयाँ प्रविधिमा काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

टोयोटाले गत वर्ष विश्व बजारमा करिब ३ लाख ८० हजार प्लग–इन सवारीसाधन बिक्री गरेको थियो । यसमध्ये करिब २ लाख ब्याट्री इलेक्ट्रिक र १ लाख ८० हजार प्लग–इन हाइब्रिड रहेको जनाइएको छ । त्यसको तुलनामा चीनमा मात्रै २०२७ सम्म २ लाख ईआरईभी उत्पादन गर्ने लक्ष्यलाई कम्पनीको महत्वाकांक्षी योजना मानिएको छ ।

चिनियाँ बजारमा ईआरईभी रणनीति सफल भए टोयोटाले यही प्रविधिलाई अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्न सक्ने सम्भावना छ । विशेषगरी ठूला एसयूभी तथा पिकअपमा रेन्ज–एक्सटेन्डर प्रविधिप्रति चासो बढिरहेका बेला टोयोटाका आगामी मोडलमा समेत ईआरईभी प्रविधि प्रयोग हुन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *