टाटाले देखायो नयाँ ‘एरिस’ सेडानको पहिलो टिजर

काठमाडौं । टाटाले आफ्नो आगामी कम्प्याक्ट सेडान ‘एरिस’ को पहिलो टिजर सार्वजनिक गरेको छ । कम्पनीले आगामी सेप्टेम्बर २५ मा गाडीका प्राविधिक विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका बेला यसको बाहिरी डिजाइनको प्रारम्भिक झलक देखाएको हो ।

भारतीय बजारमा टिगोरको अपडेटेड संस्करणलाई नयाँ नाम र डिजाइनसहित एरिसका रूपमा ल्याउने तयारी भएको अनुमान गरिएको छ । यसअघि टाटाले ‘एरिस’ नाम ट्रेडमार्क गराएको जानकारी पनि सार्वजनिक भएको थियो ।

टिजरमा देखिएको एरिसको अगाडिको डिजाइनले गाडीलाई नयाँ पहिचान दिने संकेत गरेको छ । बैजनी रंगको कारमा पातलो एलईडी लाइट स्ट्रिप, एंगुलर हेडल्याम्प र एलईडी फग ल्याम्पसहितको तल्लो बम्पर देख्न सकिन्छ । यद्यपि, यसको ग्रिल र बम्परको पूर्ण डिजाइन भने कम्पनीले अझै लुकाएको छ ।

एरिसको पछिल्लो डिजाइनबारे पनि विभिन्न अनुमान भइरहेका छन् । गाडीमा नयाँ १५ इन्च अलोय ह्वील, नयाँ टेलगेट तथा आपसमा जोडिएको एलईडी टेलल्याम्प दिइन सक्ने अपेक्षा गरिएको छ । पछाडिको भागमा ठाडो रिफ्लेक्टर र ‘ERIS’ ब्याजसहितको नयाँ बम्पर रहने सम्भावना छ ।

क्याबिनतर्फ भने कम्पनीले अहिलेसम्म कुनै आधिकारिक तस्वीर वा विवरण सार्वजनिक गरेको छैन । यद्यपि, टाटाको पछिल्लो टियागो फेसलिफ्टबाट यसको इन्टेरियर डिजाइन प्रभावित हुने अनुमान गरिएको छ । नयाँ सामग्री र फिनिसिङमार्फत क्याबिनलाई पहिलेभन्दा प्रिमियम बनाउने तयारी रहेको बताइएको छ ।

फिचरतर्फ एरिसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध हुन सक्नेछ । यसले वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल तथा वायरलेस फोन चार्जरजस्ता सुविधा पनि समावेश हुन सक्नेछन् ।

डिजाइनका हिसाबले एरिसमा परम्परागत थ्री–बक्स सेडानको सट्टा नचब्याक शैलीलाई निरन्तरता दिइने सम्भावना छ । यसको अगाडिको भागमा नयाँ ग्रिल, बम्पर तथा एलईडी लाइटिङ सेटअपले फरक लुक दिने अपेक्षा गरिएको छ ।

पावरट्रेनमा भने पेट्रोलसँगै विद्युतीय विकल्पसमेत ल्याउने तयारी गरिएको छ । पेट्रोल संस्करणमा १.२ लिटर नेचुरली एस्पिरेटेड इन्जिन प्रयोग हुने सम्भावना छ । उक्त इन्जिनले ८६ हर्सपावर र ११३ न्युटन मिटर टर्क उत्पादन गर्नेछ भने ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्सको विकल्प रहन सक्नेछ ।

त्यस्तै, एरिस ईभीमा टियागो ईभीसँग मिल्दोजुल्दो १९.२ किलोवाट आवर र २४ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।

टाटाले सेप्टेम्बर २५ मा एरिसका थप विवरण सार्वजनिक गरेपछि यसको डिजाइन, फिचर, ब्याट्री क्षमता तथा अन्य प्राविधिक पक्षबारे स्पष्ट जानकारी आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *