काठमाडौं । हुन्डाईले चीनमा आफ्नो आयोनिक सिरिजअन्तर्गतको नयाँ विद्युतीय एसयूभी ‘आयोनिक भी’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यो मोडललाई आगामी सेप्टेम्बर २९ मा चिनियाँ बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने भएको हो ।
प्रि–सेलमार्फत ग्राहकको बुकिङ लिन थालिसकेको आयोनिक भी तीन भेरियन्टमा उपलब्ध हुने जनाइएको छ । यसको प्रारम्भिक मूल्य १७ हजार ६०० अमेरिकी डलरबाट सुरु भएर २० हजार ६०० अमेरिकी डलरसम्म पुग्नेछ ।
चिनियाँ ग्राहकको आवश्यकता र बजारलाई केन्द्रमा राखेर विकास गरिएको आयोनिक भीको डिजाइनमा हुन्डाई चाइना डिजाइन सेन्टरले नेतृत्व गरेको हो । कम्पनीले चीनमा विकास गरिएको यसको डिजाइन तथा अवधारणालाई आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय बजारमा समेत प्रयोग गर्ने योजना बनाएको छ ।
गाडीको क्याबिनमा २७ इन्चको अल्ट्रा–थिन 4K सेन्ट्रल कन्ट्रोल स्क्रिन राखिएको छ । क्वाल्कम स्न्यापड्र्यागन ८२९५ चिपसेटमा आधारित इन्फोटेनमेन्ट सिस्टममा चिनियाँ बजारका लागि बाइडुको अर्नी बोट र बाइटडान्सको दोउबाओलगायत एआई मोडल समावेश गरिएको छ ।
पावरट्रेनतर्फ आयोनिक भीमा १४० किलोवाट र १६८ किलोवाट क्षमताका दुई सिंगल–मोटर विकल्प दिइनेछ । ब्याट्रीतर्फ भने क्याटलले उत्पादन गरेको ५३.५ किलोवाट आवर र ६६.८ किलोवाट आवर क्षमताका एलएफपी ब्याट्री प्याक उपलब्ध हुनेछन् ।
ठूलो ब्याट्री विकल्पसहितको आयोनिक भीले एकपटक पूर्ण चार्ज गरेपछि ६५० किलोमिटरसम्मको CLTC रेन्ज दिने दाबी गरिएको छ । विभिन्न ब्याट्री र पावरट्रेन विकल्पअनुसार यसको रेन्ज ५२० किलोमिटरदेखि ६५० किलोमिटरसम्म रहनेछ ।
चिनियाँ बजारका उपभोक्तालाई लक्षित गरी तयार पारिएको आयोनिक भीमार्फत हुन्डाईले स्थानीय बजारमा आफ्नो विद्युतीय गाडीको उपस्थितिलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।