मारुती सुजुकीको बहुचर्चित मल्टि–पर्पस भ्यान ‘ईको’ ले १५ लाख युनिट बिक्रीको ऐतिहासिक माइलस्टोन पार गरेको छ ।
सन् २०१० मा पहिलो पटक बजारमा आएको ईकोले सुरुवाती ५ लाख युनिट बिक्री गर्न ८ वर्षको समय लगाएको थियो । तर त्यसपछिको ५ लाख बिक्री ५ वर्षमै पूरा भयो भने पछिल्लो ५ लाख युनिट त केवल ३.५ वर्षमै बिक्री भएर कम्पनीले नयाँ रेकर्ड कायम गरेको हो ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०२५ र २६ मा ईकोको कुल बिक्रीमध्ये ५ प्रतिशत हिस्सा ग्रामीण बजारको रहेको छ । यस गाडीका ५५ प्रतिशत ग्राहकहरू पहिलो पटक कार खरिद गर्नेहरू हुन् भने ५१ प्रतिशतभन्दा बढी ग्राहक व्यवसाय सञ्चालकहरू रहेका छन् ।
कम्पनीले ईकोलाई ५ र ६ सिटर प्यासेन्जर भेरियन्ट, टुर भी, एम्बुलेन्स तथा कार्गो गरी कुल १३ वटा विभिन्न भेरियन्टमा उपलब्ध गराउँदै आएको छ । यो गाडी पेट्रोल र सीएनजी दुवै इन्जिन विकल्पमा उपलब्ध छ ।
सुजुकी ईकोमा १.२ लिटर के–सिरिज पेट्रोल इन्जिन राखिएको छ भने सुरक्षाका लागि ड्राइभर–साइड एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर र हाई–स्पीड अलर्ट सिस्टम जस्ता फिचरहरु उपलब्ध गराइएका छन् ।
ईको नेपाली बजारमा समेत सर्बाधिक रुचाइएको मिनी भ्यान हो । नेपालमा यो निजी प्रयोगका लागि भन्दा पनि स्कुल र अफिस तथा व्यवसायिक प्रयोजनमा बढी प्रयोग हुँदै आएको छ ।