रसुवा नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार

रसुवाको बाढी–पहिरोका कारण रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला चीनसँगको वैकल्पिक प्रवेशद्वार बनेको छ । रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका बन्द गरेको थियो । तातोपानी नाका बन्द गरेपछि पछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ ।

सम्बन्धित निकायका अनुसार केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका नेपाली नागरिक र सवारीसाधनलाई नेपाल प्रवेश गराउने क्रममा दुवै देशका अधिकारीहरूले आवश्यक सहजीकरण गरिरहेका छन् ।

रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला अहिले नेपाल–चीन आवागमन तथा व्यापारिक विकल्पका रूपमा प्रयोग हुन थालेको हो । यो व्यवस्थाले तत्काल चीनमा रोकिएका नेपालीको उद्धार र आवागमन सहज बनाएको मात्र छैन, मुस्ताङको कोरला नाकालाई भविष्यमा व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनका लागि रणनीतिक मार्गका रूपमा स्थापित गर्ने सम्भावनालाई पनि बल दिएको छ ।

कोरला नाका नयाँ मार्ग होइन । स्थानीय इतिहासकारहरूका अनुसार राणाकाल, प्रजातन्त्र र पञ्चायतकालसम्म भोट र पहाडबीचको प्रमुख व्यापारिक मार्ग यही क्षेत्र थियो । त्यसबेला मुस्ताङको टुकुचे प्रमुख व्यापारिक तथा भन्सार केन्द्रका रूपमा परिचित थियो ।

तिब्बती व्यापारीहरू नुन, ऊन र पशुचौपाया बोकेर टुकुचेसम्म आउने गर्थे भने नेपालबाट जौ, मकै, चामल, सातु तथा पित्तलका भाँडाकुँडा तिब्बततर्फ लैजाने गरिन्थ्यो। यही नुन–अन्न व्यापारले मुस्ताङको आर्थिक र सामाजिक जीवनलाई दशकौँसम्म चलायमान बनाएको थियो ।

तर सन् १९५०–५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित भएसँगै पुरानो व्यापार प्रणाली क्रमशः कमजोर बन्दै गयो । त्यसपछि सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्यो र परम्परागत व्यापारिक गतिविधिमा ठूलो परिवर्तन आयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *