काठमाडौं । धादिङबेँसी जोड्ने सडक पुनः सञ्चालनका लागि धादिङको फुर्केखोलामा बेलिब्रिज राख्ने तयारी अघि बढाइएको छ । यसका लागि सडक विभागले चिनियाँ विशेषज्ञसँग प्राविधिक परामर्श थालेको छ ।
भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेको फुर्केखोलाको पक्की पुल बगाएपछि उक्त स्थानमा वैकल्पिक पुल निर्माण गर्न लागिएको हो ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार चीन सरकारले नेपाललाई उपलब्ध गराएको १०० मिटर लामो बेलिब्रिज फुर्केखोलामा जडान गर्ने विषयमा चिनियाँ विज्ञसँग छलफल भइरहेको छ ।
आइतबार पृथ्वी राजमार्गको स्थलगत अनुगमनका क्रममा जैसीले फुर्केखोलामा करिब ९४ मिटर लामो स्पानमा बीचमा पिलर नराखी बेलिब्रिज जडान गर्ने विकल्पबारे अध्ययन भइरहेको बताए ।
उनका अनुसार चीनबाट प्राप्त बेलिब्रिज उक्त स्थानमा सफलतापूर्वक जडान गर्न सकेमा २ देखि ३ साताभित्र यातायात सञ्चालनमा ल्याउन सकिने अनुमान छ ।
बेलिब्रिज जडान तथा पुल निर्माणका लागि आवश्यक प्राविधिक दक्षता सडक विभागसँग रहेको पनि महानिर्देशक जैसीले बताए ।