काठमाडौं । जर्मनीको प्रमुख कार निर्माता फक्सवागनले सन् २०३० सम्म थप ५० हजार रोजगारी कटौती गर्ने योजना अघि सारेको छ । यसअघि घोषणा गरिएको कटौतीसमेत जोड्दा दशकको अन्त्यसम्म कम्पनीले विश्वभर करिब १ लाख रोजगारी घटाउनेछ ।
कारको बिक्रीमा आएको गिरावट, नाफामा कमी तथा चिनियाँ प्रतिस्पर्धी कम्पनीको बढ्दो दबाबका बीच फक्सवागनले लागत घटाउने र उत्पादन संरचना पुनर्गठन गर्ने रणनीति अपनाएको हो ।
कम्पनीले सन् २०३५ सम्म उत्पादन गर्ने कारका विभिन्न मोडलको संख्या आधाले घटाउने योजना बनाएको छ । साथै, उत्पादन प्रक्रियामा रहेको जटिलता ७५ प्रतिशतसम्म कम गर्ने लक्ष्य लिइएको छ ।
फक्सवागनमा सन् २०२५ सम्म विश्वभर ६ लाख ६० हजारभन्दा बढी कर्मचारी कार्यरत थिए । मागको तुलनामा उत्पादन क्षमता बढी रहेका केही कारखानाको भविष्यबारे समेत कम्पनीले समीक्षा गरिरहेको जनाएको छ ।