सरकारले घोषणा गरेको पुनरुत्थान प्याकेजप्रतिको नाडासमर्थन

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट थलिएको उद्योग, व्यापार तथा व्यवसायलाई पुनः जीवन दिन नेपाल सरकारले घोषणा गरेको पुनरुत्थान प्याकेजप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)  ले पूर्ण समर्थन गरेको छ ।

सरकारले बिहीबार बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण, ब्याज सहुलियत, थप कर्जा सुविधा र बीमा दाबी भुक्तानीलाई सहज बनाउने एकीकृत निर्णय गरेको थियो ।

विपद्को यस कठिन घडीमा थलिएका व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनको वातावरण बनाउन सरकारले लिएको यो कदम अत्यन्त सकारात्मक रहेको नाडाको ठहर छ ।

विशेषगरी बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका वा बगाएर हराएका व्यावसायिक तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका नयाँ साधन आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने नाडाले जनाएको छ ।

यसका साथै क्षतिग्रस्त मेशिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियतले उद्योगहरूको शीघ्र पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । बाढी प्रभावित ऋणीहरूका लागि कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण र ब्याजदरमा सहुलियत दिने निर्णयले उद्योगी–व्यवसायीमाथि परेको तत्कालको वित्तीय चापलाई उल्लेख्य रूपमा कम गर्नेछ ।

साथै, क्षतिग्रस्त सवारी साधन तथा उपकरण पुनः खरिदका लागि थप कर्जा उपलब्ध गराउने व्यवस्थाले रोकिएका व्यावसायिक गतिविधिहरूलाई पुनः निरन्तरता दिन मद्दत पुग्ने नाडाको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *