नाडा अटो शोमा १३ बैंकका अटो लोन योजना, कसको ब्याजदर कति ?

काठमाडौं । सवारी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै नाडा अटो शो २०२६ मा बैंकहरूले अटो लोनका लागि प्रतिस्पर्धात्मक योजना अघि सारेका छन्। बैंकहरूले कम ब्याजदरका साथै लामो कर्जा अवधि, न्यून सेवा शुल्क, डाउन पेमेन्टमा सहुलियत र विद्युतीय सवारी (ईभी) खरिदमा विशेष कर्जा सुविधा उपलब्ध गराएका छन्।

भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शोमा सरकारी र निजी क्षेत्रका १३ वाणिज्य बैंक सहभागी छन्। ती बैंकहरूले सार्वजनिक गरेको योजनाअनुसार अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म छ। यद्यपि, बैंकअनुसार ब्याजदरको प्रकृति, कर्जा अवधि र शुल्कमा फरक व्यवस्था गरिएको छ।

कम ब्याजदरको विकल्प खोज्ने ग्राहकका लागि कृषि विकास बैंकको योजना आकर्षक देखिएको छ। बैंकले ४.६६ प्रतिशत ब्याजदरमा अधिकतम ७ वर्ष अवधिका लागि अटो लोन दिने जनाएको छ। अटो शो अवधिमा सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुटसमेत दिने बैंकको योजना छ। ईभी खरिद गर्दा सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिनेछ।

नेपाल बैंकले पनि अटो शो अवधिभर ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत फ्लोटिङ ब्याजदरमा ७ वर्षसम्मका लागि अधिकतम १ करोड रुपैयाँसम्म कर्जा दिनेछ। बैंकले सामान्य अवस्थामा ०.७५ प्रतिशत रहेको सेवा शुल्कलाई घटाएर अटो शो अवधिमा ०.५० प्रतिशत कायम गरेको छ।

नबिल बैंकले भने कर्जा भुक्तानीको संरचनामै फरक सुविधा ल्याएको छ। बैंकले २० प्रतिशत डाउन पेमेन्टको व्यवस्था गरेको छ। ग्राहकले थप २० प्रतिशत रकम क्रेडिट कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने बाँकी ६० प्रतिशत बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ। बैंकको अटो लोनको ब्याजदर ५.१७ प्रतिशत रहेको छ।

ईभी खरिदकर्तालाई लक्षित गर्दै एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मको कर्जा दिने जनाएको छ। बजारमा धेरै बैंकले फ्लोटिङ रेटमा कर्जा दिइरहेका बेला एनआईसी एसियाले स्थिर ब्याजदरको विकल्प अघि सारेको हो। बैंकले फ्लोटिङ रेटमा समेत अटो लोन उपलब्ध गराउने जनाएको छ। ईभीका लागि सवारी मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिनेछ।

ग्लोबल आईएमई बैंकले ईभीका लागि ५.१७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। ७ वर्षे कर्जामा सुरुका ३ वर्ष ५.१७ प्रतिशत स्थिर ब्याजदर लागू हुनेछ। त्यसपछि बाँकी ४ वर्षका लागि सम्बन्धित अवधिको बेस रेटमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ।

कर्जा तिर्ने अवधि लामो बनाउन चाहने ग्राहकका लागि माछापुच्छ्रे बैंकले १० वर्षसम्मको विकल्प दिएको छ। बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउनेछ। सेवा शुल्क ०.५० प्रतिशत रहेकामा अटो शो अवधिभर ०.२५ प्रतिशत छुट दिने जनाएको छ।

प्रभु बैंकले ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। बैंकका अनुसार आधारदरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम थप हुनेछ। लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत फ्लोटिङ ब्याजदरमा ७ वर्ष अवधिको अटो लोन उपलब्ध गराउनेछ। यसको सेवा शुल्क ०.५० प्रतिशत रहनेछ।

अन्य बैंकतर्फ कुमारी बैंकले ५.२१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.१३ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५४ प्रतिशत तथा सिद्धार्थ बैंकले ५.९६ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएका छन्। यी बैंकहरूले पनि ७ वर्षसम्मको अवधिका लागि फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराउनेछन् भने सेवा शुल्क ०.५० प्रतिशत रहने जनाइएको छ।

यसरी नाडा अटो शोमा बैंकहरूबीच ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धा ब्याजदरमा मात्रै सीमित छैन। कर्जा तिर्ने अवधि, सेवा शुल्क, डाउन पेमेन्टको व्यवस्था तथा ईभी खरिदमा उपलब्ध हुने कर्जाको सीमालाई समेत प्राथमिकतामा राखेर बैंकहरूले छुट्टाछुट्टै योजना सार्वजनिक गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *