काठमाडौं । अटोमोबाइल तथा स्पेयर पार्ट्स व्यवसायमा सक्रिय पौडेल इन्टरप्राइजेज प्रालिले आफ्ना व्यावसायिक साझेदारलाई सम्मान तथा आगामी सहकार्यबारे छलफल गर्न ‘व्यावसायिक उत्कृष्टता तथा साझेदार भेटघाट २०२६’ आयोजना गरेको छ।
ललितपुरस्थित द प्लाजामा आयोजित कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका दुईपाङ्ग्रे क्षेत्रका २२० जना तथा चारपाङ्ग्रे र व्यावसायिक सवारीसाधन क्षेत्रका ३५ जना डिलर तथा खुद्रा विक्रेता सहभागी भएका थिए।
साँझ ५ बजेदेखि राति १० बजेसम्म चलेको कार्यक्रममा पौडेल इन्टरप्राइजेजले नेपालमा आयात तथा वितरण गर्दै आएका १५ ब्रान्डका उत्पादन प्रदर्शन गरिएको थियो। सहभागी व्यवसायिक साझेदारलाई सम्बन्धित उत्पादनका विशेषता, प्राविधिक पक्ष र नेपाली बजारमा उपलब्ध मोडल तथा उत्पादनबारे जानकारी दिइएको थियो।
कार्यक्रममा उत्कृष्ट बिक्री प्रदर्शन गर्ने १४ जना डिलर तथा खुद्रा विक्रेतालाई सम्मान गर्नुका साथै विशेष उपहार प्रदान गरिएको थियो। युनो मिन्डा ब्रान्डअन्तर्गत एएस अटो कन्सर्नका अशोककुमार पौडेललाई उत्कृष्ट बिक्रेताका रूपमा सम्मान गरिएको थियो। स्टार बाइक पार्ट्स एन्ड एसेसरिज, सिनामंगल र किरण इन्टरप्राइजेज, पाटनलाई पनि सोही ब्रान्डतर्फ सम्मान गरिएको थियो।
त्यस्तै, पावर ब्रान्डतर्फ एलजी अटो पार्ट्स र पनौती बाइक पार्ट्स, पनौती, गेट्स बेल्टतर्फ सम्पदा अटो पार्ट्स, टेकु, बोनी रबरतर्फ गणपति पार्ट्स सेन्टर, पाटन तथा एडभिकतर्फ आकाश भैरव सप्लायर्स, बालाजुलाई सम्मान गरिएको थियो।
टेक्सस्पिन बेयरिङ्सतर्फ केशव अटो पार्ट्स, जोरपाटी तथा युकल कार्ब्युरेटरतर्फ बिनित एन्ड विक्रम अटो पार्ट्स, बालाजुलगायतका व्यावसायिक साझेदार पनि सम्मानित भएका थिए।
कार्यक्रममा उत्पादन तथा ब्रान्डसम्बन्धी अन्तरक्रियात्मक प्रश्न–उत्तर सत्रसमेत राखिएको थियो। डिलर तथा खुद्रा विक्रेताले उत्पादनको गुणस्तर, प्राविधिक विशेषता र बजारसम्बन्धी जिज्ञासा कम्पनी तथा आपूर्तिकर्ताका प्रतिनिधिसमक्ष राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पौडेल इन्टरप्राइजेजका प्रबन्ध निर्देशकले आगामी दिनमा गुणस्तरीय उत्पादनको आयात, बिक्री र वितरणलाई निरन्तरता दिने बताए। ग्राहकको विश्वास कायम राख्न उत्पादनको गुणस्तर, विश्वसनीयता र सेवामा सुधार गर्दै जाने उनको भनाइ थियो।
उनले स्थिर तथा लगानीमैत्री औद्योगिक नीति, सरकारको सहयोग र आवश्यक पूर्वाधारको विकास हुन सके नेपालमा केही बहुराष्ट्रिय कम्पनीले समेत उत्पादन सुरु गर्न सक्ने सम्भावना रहेको बताए। यसबाट स्वदेशमै उत्पादन विस्तार हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना गर्न सकिने उनले उल्लेख गरे।
कार्यक्रममा रसुवामा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। विपद्को समयमा निजी क्षेत्र, व्यवसायी र आम नागरिकले आफ्नो क्षमता तथा स्रोतअनुसार प्रभावित नागरिकलाई सहयोग गर्न प्रबन्ध निर्देशकले आग्रह गरे।
कार्यक्रममा कम्पनीका अध्यक्ष नारायणप्रसाद पौडेल, निर्देशक आयुष्मा बान पौडेल, निर्देशक राजीव पौडेललगायत कम्पनीका प्रतिनिधि, बिक्री टोली तथा आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिको सहभागिता थियो। सहभागीका लागि प्रत्यक्ष सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
पौडेल इन्टरप्राइजेजका अनुसार कार्यक्रमको उद्देश्य डिलर तथा खुद्रा विक्रेतासँगको व्यावसायिक सम्बन्ध थप बलियो बनाउनु, उत्पादन तथा बजारसम्बन्धी जानकारी आदानप्रदान गर्नु र उत्कृष्ट बिक्री प्रदर्शन गर्ने साझेदारलाई सम्मान तथा प्रोत्साहन गर्नु हो।
कम्पनीले आगामी दिनमा डिलर, खुद्रा विक्रेता र आपूर्तिकर्तासँगको सहकार्य विस्तार गर्दै गुणस्तरीय उत्पादन, विश्वसनीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने जनाएको छ।