काठमाडौं । सीजी एमएडब्लू इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को पहिलो दिन प्रिमियम इन्टेलिजेन्ट इलेक्ट्रिक एसयूभी अवतार ०७ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले यसको सुरुवाती मूल्य २ करोड २० लाख रुपैयाँ निर्धारण गरेको छ ।
अवतार ०७ लाई प्रिमियम तथा इन्टेलिजेन्ट एसयूभीका रूपमा प्रस्तुत गरिएको छ । चीनको चाङआन इन्टरनेसनल कर्पोरेसनसँगको सहकार्यमा विकसित यो मोडल नेपाली बजारमा सीजी एमएडब्लू इभोलुसन प्रालिले आधिकारिक रूपमा बिक्री गर्नेछ ।
अवतार ०७ मा ८२.१६ किलोवाटआवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले एनईडीसी परीक्षण मापदण्डअनुसार एकपटकको फुल चार्जमा ५७५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।
विद्युतीय एसयूभीमा रियर–ह्विल–ड्राइभ पावरट्रेन रहेको छ । यसले अधिकतम १९० किलोवाट पावर र ३६५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । अवतार ०७ ले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ७.७ सेकेन्डमा हासिल गर्न सक्ने दाबी गरिएको छ ।
प्रिमियम एसयूभीमा ३५.६ इन्चको फोर–के पानोरामिक डिस्प्ले, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, नाप्पा लेदर अपहोल्स्ट्री, ६४ रङको एम्बियन्ट लाइटिङ तथा २५ वटा स्पिकरसहितको अडियो सिस्टम उपलब्ध छ ।
त्यस्तै, गाडीमा जिरो–ग्राभिटी फ्रन्ट सिट, सिट भेन्टिलेसन तथा हिटिङ, मसाज सुविधा, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ५० वाटको वायरलेस स्मार्टफोन चार्जरलगायतका सुविधा समावेश छन् ।
सुरक्षाका लागि अवतार ०७ मा नाभिटा ड्राइभर तथा विभिन्न इन्टेलिजेन्ट ड्राइभर–असिस्टेन्ट र सुरक्षा प्रविधि उपलब्ध रहेको कम्पनीले जनाएको छ । हाई–टेक कनेक्टिभिटी, स्मार्ट सुविधा र प्रिमियम कम्फर्टलाई प्राथमिकता दिइएको यो एसयूभीलाई नेपाली प्रिमियम ईभी बजारमा नयाँ विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।
नेपालमा अवतार ०७ को अधिकतम खुद्रा मूल्य २ करोड २० लाख रुपैयाँ निर्धारण गरिएको छ । नाडा अटो शो २०२६ अवधिभर अवतार ०७ प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न सकिनेछ ।