काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल चेम्बर अफ कमर्सले दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग अघि बढाएको छ ।
चेम्बरले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी पर्यटक, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा रहने प्रतिबद्धता समेत चेम्बरले जनाएको छ ।
बाढीबाट घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा पुगेको क्षतिप्रति चेम्बरले चिन्ता व्यक्त गरेको छ ।
विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चेम्बरले राहत संकलन तथा वितरण अभियानलाई तीव्रता दिएको जनाएको छ । जिल्ला तथा नगर चेम्बरमार्फत रसुवा, नुवाकोट र धादिङमा आवश्यकताअनुसार राहत सहयोग निरन्तर जारी राखिने बताइएको छ ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन चेम्बरले ५० किलोसम्मको भार बोक्न सक्ने ड्रोन र सर्भिलेन्स ड्रोन गरी दुई वटा ड्रोन बिदुर नगरपालिकामा पठाइसकेको जनाएको छ । त्यस्तै, १०० किलोसम्मको भार बोक्न सक्ने ड्रोन पठाउने अन्तिम तयारी भइरहेको र आवश्यकताअनुसार थप ठूलो संख्यामा ड्रोन पठाउने तयारीसमेत भइरहेको चेम्बरले जनाएको छ ।
यसैगरी, चेम्बरले १२५ वटा पावर बैंक समेत उपलब्ध गराइसकेको छ । नेपाल यूथ चेम्बरले भदौ ११ गते जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको र आवश्यकता अनुसार यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
चेम्बरले आफ्ना मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल यूथ चेम्बर तथा विपद् व्यवस्थापन परिषद्लगायतका संस्थालाई राहत तथा उद्धारका काममा सक्रिय हुन आग्रह गरेको छ ।
बाढी प्रभावित क्षेत्रको तत्काल उद्धार तथा राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग तथा सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स प्रतिबद्ध रहेको जनाएको छ । साथै, विपद्को यस कठिन समयमा पीडितहरूको सहयोगका लागि सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न चेम्बरले अपिल गरेको छ।