बाढी प्रभावितका लागि नाडाले प्रधानमन्त्री राहत कोषमा १० लाख दिने, अटो शो निरन्तर सञ्चालन गर्ने

काठमाडौं । चीनको तिब्बती भू–भागबाट आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले दुःख व्यक्त गर्दै राहतका लागि आर्थिक सहयोग गर्ने भएको छ ।

नाडाले बाढी प्रभावितको तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

नाडाले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विपद्को यस कठिन समयमा सरकार, सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले गरिरहेको उद्धार र राहत कार्यप्रति नाडाले आभार व्यक्त गरेको छ । प्रभावित नागरिक, व्यवसायी तथा स्थानीय समुदायलाई आवश्यक सहयोग पुर्‍याउन निजी क्षेत्रले समेत आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा नाडाले जोड दिएको छ ।

नाडाले राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । साथै, आफ्ना सदस्य तथा अटोमोबाइल व्यवसायीहरूलाई समेत विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सहयोग गर्न आह्वान गरेको छ ।

यसैबीच, विपद्को अवस्था उत्पन्न भए पनि काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने नाडाले जनाएको छ । आर्थिक गतिविधिलाई चलायमान राख्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै अटो शो पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन गरिने बताइएको छ ।

नाडाले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नसमेत अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *